काठमाडौैं १९ चैत । आज भन्दा चार दिन अघि अर्थात १६ चैतमा बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको आइसोलेसनमा उपचारका क्रममा निधन भएका एक पुरुषको शव अझै पनि उठेको छ्रैन ।

त्यहाँ उपचारका क्रममा निधन भएका बाबुराम थापाको शव चार दिन बितिसक्दा पनि उठ्न नसकेको हो । उनको शव उठ्न नसक्नुको कारण भने परिवारले शव बुझ्न नमानेर हो । पाल्पा रिब्दिकोट गाउँपालिका–६ मा स्थायी घर भएका थापाको परिवार सैनामैना नगरपालिका वडा नंं ४ सिसौडाँडामा कोठा भाडामा बस्दै आएका छन् ।

मृतक थापाकी श्रीमती रिता थापाले कोरोनो नेगेटिभ भए मृत्युको यथार्थ रिपोर्ट डाक्टरले दिनुपर्ने बताएकी छिन् । मृत्युको यथार्थ रिपोर्ट अस्पतालले दिनुपर्ने र क्षतिपुर्ति समेत सरकारले दिनुपर्ने माग राख्दै परिवारले उनको शव उठाउन मानेको छैन ।

थापा हिँड्दै अस्पतालमा पुगेको र अर्को दिनसम्म फोन सम्पर्क समेत भएको अवस्थामा डाक्टरले अर्को दिन मृत्यु भयो भन्नु अस्पतालको गम्भीर लापरबाही भएको परिवारको आरोप छ ।

गत ६ चैतमा दुबईबाट नेपाल आएका उनलाई हल्का ज्वरो देखिएको थियो । ५ बर्षपछि घर आएका उनी चैत १३ गते अटो रिक्सा रिजर्भ गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो जाँचका लागि आएका थिए । तर, त्यहाँ उपचारमा खटिएका स्वास्थ्यकर्मीले आइसोलेसनमा राखेर उपचार गर्ने भन्दै धागो कारखानामा रहेको अस्थायी कोरोना अस्पतालमा पठाएका थिए । तर, तीन दिनपछि गत आइतबार दिउँसो उनको मृत्यु भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।