काठमाडौँ — कैलालीमा भेटिएका संक्रमित युवकसँगै भारतबाट घर फर्किएकाहरूको ‘कन्ट्याक्ट ट्रेस’ हुन सकेको छैन । लकडाउन सुरु भएपछि गौरीफन्टा नाकाबाट चैत १२ मा कञ्चनपुर भित्रिएका उनीहरूको खोजी नहुँदा संक्रमणको जोखिमसँगै त्राससमेत बढेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार संक्रमितसँगै भीडमा रहेका ५२ जना कञ्चनपुरका रहेको खुलेको छ तर हालसम्म १० जना मात्रै सम्पर्कमा आएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार तीमध्ये ३ जनाको बुधबार स्वाब संकलन गरिएको छ ।

‘कोही स्थानीय तहको क्वारेन्टाइनमा छन्, कोही होम क्वारेन्टाइनमै छन्,’ उपाध्यायले भने, ‘हामीले सबै स्थानीय तहलाई विवरण संकलनसँगै सजगता अपनाउन आग्रह गरेका छौं ।’ उनका अनुसार गौरीफन्टा नाकाबाट भित्रिई लालझाडी गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरिएको हो । यसबाहेक शुक्लाफाँटा र वेदकोट नगरपालिकामा समेत केही व्यक्ति क्वारेन्टाइनमा रहेको उनले बताए ।

शनिबार संक्रमण देखिएका कैलालीको लम्कीका २१ वर्षीय युवक भित्रिएको दिन चैत १२ मा एक हजार बढीले नाकामा प्रदर्शन गरेका थिए । संक्रमित युवकसँगै भारत उत्तराखण्डको लोहाघाटबाट आएका अन्य १० जनासहित उनीहरूलाई नियन्त्रणमा लिने १४ जना सुरक्षाकर्मी, ३ जना सवारीचालक, सहचालक र गाडीधनी तथा ट्युबबाट तार्ने दुई जना गरी २९ जनाको कन्ट्याक्ट ट्रेस गरेर सबैको स्वाब संकलन भइसकेको छ । कान्तिपुरमा समाचार छ ।

सयभन्दा बढी भागे
बझाङमा पालिकाका क्वारेन्टाइनबाट सय जनाभन्दा बढी भागेका छन् । भारत तथा तेस्रो मुलुकबाट फर्केका ३ सय ८० जनालाई जिल्लाका १२ पालिकाका क्वारेन्टाइनमा राखिएको थियो । विभिन्न ३४ क्वारेन्टाइनमा राखिएका उक्त संख्याका व्यक्ति पूरा अवधि नबसेरै भागेका हुन् । क्वारेन्टाइनबाट भाग्नेको यकिन तथ्यांक भने कुनै निकायले राखेका छैनन् ।

थलारा गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट ५२ जना र दुर्गाथली गाउँपालिकाको क्वारेन्टाइनबाट ३५ जना भागेको स्वास्थ्य कार्यालय बझाङका कोरोना महामारी नियन्त्रण फोकल पर्सन नारायण जोशीले बताए । ‘सय जनाभन्दा बढी भागेको जानकारी आएको छ,’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।