कोरोना रोकथाममा प्रदेश २ सरकार गैरजिम्मेवार भयो : प्रभू साह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमाप्रदेश २ सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।
सामाजिक संजाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार अग्र भागमा रहेको र प्रदेश सरकारले आफ्नो बजेट अन्य तहलाई दिएर पन्छिन खोजेको बताएका छन् ।
‘महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा प्रदेश २ सरकार पुरै उदासीन देखिएको छ । यस महासंकटको घडीमा आफ्नो मातहतको संरचनामार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदानदाताको भूमिकामा मात्र सीमित छ । गाउँपालिका र नगरपालिका तथा संघ मातहतका जिप्रका, प्रहरी, जेल लगायतका निकायलाई आफ्नो बजेट बाँड्ने तर आफु भने केहीपनि देखिने कामनगर्ने प्रदेश सरकारको रवैया महाराजा शैलीको देखिन्छ’ अध्यक्ष साहले लेखेका छन् ।
उनी अगाडी लेखेका छन््, ‘प्रदेश सरकारले आफु जिम्मालिएका ५ वटा सुविधा सम्पन्न अस्पताल समेतमा तयारीको कार्य शुन्य बराबर भएको हेर्दा प्रदेश २ सरकार कति गैर जिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ । भारसँग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सिमाका कारण पनि अन्य प्रदेशको तुलनामा यो प्रदेश थप जोखिमयुक्त र विशेष संवेदनशील छ तर विडम्बना संघीय सरकारले उपलब्ध गराएको पिसिआर परिक्षण प्रविधिका अलवा हालसम्म प्रदेश सरकारले कोरोनाको संक्रमण परिक्षणका लागि आफ्नो तर्फबाट परिक्षण शालाहरु निर्माण गर्न त परै जाओस् , सामान्य तया यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइ कर्मचारीहरूलाई अहिलेसम्म गुणस्तरिय सुरक्षा सामग्री उपलब्ध भएको छैन ।’
‘बाहिरबाट के कति मानिसहरू आए ? त्यसको सहि पहिचानको कुनै तथ्याङ्क छैन । यस्तो गैरजिम्मेवार एवंलाचार स्थितिको तुरुन्त अन्त्यहोस्, यस महाविपदको घडीमा प्रदेश सरकारलाई अग्र भागमा रहेर काम गर्न विशेष आग्रह गर्दछु ।’ उनले भनेका छन् ।

अध्यक्ष साहले प्रदेश नेतृत्व प्रदेशवासीप्रतिको उत्तरदायित्व बिर्सेको भन्दै चर्को आलोचना गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।