काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ठूला होटलहरुलाई क्वारेन्टाइन बनाउने योजना बनाएको छ । काठमाडौं उपत्यकाका ठूला होटलहरु सुविधा सम्पन्न हुने भन्दै तिनलाई क्वारेन्टाइन बनाउने विषयमा सरकारको ध्यान गएको हो ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकामा रहेका ठुला होटलहरुमा सबै सुविधा उपलब्ध हुने भएकाले अब सरकारको ध्यान त्यसतर्फ गएको बताएका छन् ।
मन्त्री मानन्धरले सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहहरुमा रहेका होटल, रिसोर्ट र होमस्टे समेतलाई क्वारेन्टाइन बनाउन सकिने बताएका छन् । ‘त्यसो गर्न सकिए दशौं हजार बेड आवश्यक परेपनि तत्काल निर्माण गर्न सकिन्छ ।’ उनले भने ।
उपत्यकामा ५ सय १८ बेड
सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखेको जनाएको छ । कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टाइन स्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८ जनालाई एकै पटक राख्न सकिने अवस्था रहेको जानकारी गराए । मन्त्री मानन्धरले उपत्यकामा क्वारेन्टाइन व्यवस्थापनलाई चुस्त बनाउन भन्दै अनुगमन थालेका हुन् ।
मन्त्री मानन्धरका अनुसार पशुपतिको धर्मशालामा ७० बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा छ । यस्तै ललितपुरको स्टाफ कलेजमा सय बेड क्षमता रहेको छ । स्टाफ कलेजमा केही सुधार गर्नुपर्ने देखिएको मन्त्री मानन्धरले बताए। यस्तै भक्तपुरको कृषि तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । खरिपाटीमा २०८ र नगरकोट नजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ७० बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले जानकारी दिए ।
अनुगमनका क्रममा खरिपाटी र तेलकोटको क्वारेन्टाइनमा सबै पुर्वाधार तयारी अवस्थामा रहेको बताउँदै मन्त्री मानन्धरले अन्य स्थानमा पनि सामान्य सुधार गरेर सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी दिए ।
सरकारले नागरिकको जीवन रक्षाका लागि हर तरहको प्रयास जारी राखेको बताउँदै मन्त्री मानन्धरले सरकारको योजनामा आम नागरिकले साथ दिएको भन्दै खुसी व्यक्त गरेका छन् । उपत्यकामा गर्नुपर्ने तयारीकाबारे प्रतिवेदन बनाउने र देशभर मापदण्ड अनुसार क्वारेन्टाइन निर्माणमा सहजीकरण थालिने उनको भनाई छ ।








