५ सय लाइकवाला एनजिओको घेरामा फसे प्रधानमन्त्री, राष्ट्रिय गान र ताली जनतामाथि इमोशनल मेलिङ

काठमाडौं ३० चैत । सरकारको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली एउटा एनजिओको अभियानमा रुमलिएको पाइएको छ । ग्लोबल कम्याक्ट नेपाल नामक संस्थाले कोरोना भाइरसको रोकथामको पहिलो लाइनमा रहेका नर्स डाक्टर लगायतको सम्मानमा नयाँ वर्षको अवसरमा राष्ट्रिय गान र ताली बजाउन गरेको अभियानमा प्रधानमन्त्री ओली पनि प्रत्यक्ष रूपमा सामेल भएका छन् ।

नर्स डाक्टर तथा सुरक्षाकर्मीले आवश्यक उपकरण नपाइरहेको अवस्थामा एउटा एनजिओले राष्ट्रिय गान र ताली बजाउन भनेकोमा प्रधानमन्त्रीले आफ्नो ट्विटर मार्फत सबैलाई सहभागी हुन अपिल गर्न भ्याएका छन् ।

यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टी भाजपाको वार्षिकोत्सव अवसर पारेर कोरोनाको नाम लिएर सबैलाई दिपावली गर्न आग्रह गरेका थिए ।

अहिले नेपालमा पनि कोरोनाको रोकथाममा अग्रस्थानमा खटिने डाक्टर नर्सहरुको नाम लिएर इमोशनल मेलिङ हुने खालको क्रियाकलाप हुने गरेको छ । यसअघि विवकेशिल पार्टीले पनि यस्तै प्रकारकाे अभियान चलाएको थियो । त्याे सामाजिक सञ्जालमा मात्र त्यतिकै सेलाएकाे थियाे । त्यतिबेला प्रधानमन्त्रीले अर्को पार्टीको भएर बेवास्ता गरेपनि अहिले एनजिओको अभियानमा भने पुरै साथ दिएका छन् । त्यससँगै अहिलेकाे अभियानले चर्चा पाइरहेकाे छ ।

कोरोना रोकथाममा शून्य सहयोग
कोरोना रोकथामको अग्रपंक्तिमा खटिनेका लागि राष्ट्रिय गान र ताली पिटेर सम्मान गरौं भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कोरोना रोकथाममा भने शून्य सहयोग रहेको पाइएको छ । संस्थाको आधिकारिक बेवसाइट र फेसबुक पेजमा त्यसबारे कुनै पनि विवरण रहेकाे छैन । अहिलेसम्म सहयोग मात्र हैन, एउटा सचेतनामूलक सन्देश समेत प्रवाह भएको पाइएको छैन । त्यहीँ संस्थाले भने सम्मानमा राष्ट्रिय गान र ताली बजाउन अपिल गरेको हो भने प्रधानमन्त्रीले त्यसैलाई साथ दिएका हुन् ।

प्रधानमन्त्रीले सम्मानमा अरु पनि गर्न सक्थे
प्रधानमन्त्री केपी शर्मा ओली कोरोना रोकथामको अग्रस्थानमा खटिएकाहरुका लागि जेसुकै गर्न सक्ने पदमा रहेका छन् । नीति निर्माण बनाउने, आवश्यक उपकरणहरु उपलब्ध गराउने उच्च तहमा उनी नै छन् । सरकार आफैंले पनि यस्तो कुनै अभियानको नेतृत्व गर्न सक्छ । अहिले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई तालि र राष्ट्रिय गान भन्दा पनि उपकरण र सुरक्षाको कुरो मुख्य हो । तर, एनजिओले तालीको अभियान चलाउने अनि प्रधानमन्त्रीले त्यसमा साथ दिने गरेको भन्दै आलोचना समेत भइरहेको छ ।

अभियान चलाउने एनजिओको साढे पाँच सय फेसबुक लाइक
अहिलेको अभियान सञ्चालन गरिरहेको संस्था ग्लोबल कम्प्याक्ट नेपाल एउटा एनजिओ हो । जसले थुप्रै आईएनजिओको प्रोजेक्ट हात पारेर काम गर्दै आएको पाइएको छ । जसको फेसबुक पेज लाइक हेर्ने हो याे सामग्री तयार पारिरहँदा ५ सय २३ मात्र छ । सामाजिक सञ्जालमा गतिविधि समेत कम रहेकाे पाइएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।