काठमाडौं ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक तथा मजदुरहरुले दुःख पाएको तथा अलपत्र परेको तस्बीर मिडियाले प्रसारण गरेको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा मान्छे दुःखमा परेको तथा अलपत्र परेको तस्बीर तथा भिडियो भोलिपल्टै मिडियामा प्रसारण नगर्न मिडियाकर्मीलाई निर्देशन समेत दिएका छन् ।

कुनै ठाउँमा मान्छे अलपत्र परेको देखेमा त्यो दुःखको प्रसारण भोलिपल्ट मिडियाबाट गर्ने नभएर हेलो सरकार वा सरकारी निकायमा खबर गर्नुपर्नेमा उनको जोड छ । ‘सञ्चारकर्मी र सञ्चारमाध्यमहरुलाई म अनुरोध गर्न चाहन्छु, कुनै ठाउँमा मान्छे अलपत्र परेको देख्नु भयो भने त्यो अलपत्रको त्यो दुःखको प्रसारण भोलिपल्ट मिडियाबाट गर्ने हैन, हेलो सरकारको नम्बर त उहाँहरुलाई थाहा होला नि त्यसमा बताईदिए हुन्थ्यो’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘सरकारको कुनै निकायमा यस्तो छ, यस्तो होस् भनेर एउटा टेलिफोन गरिदिए हुन्थ्यो, रचनात्मक ढंगले उहाँहरु प्रस्तुत हुनुहुन्न, समस्या समाधानका लागि त उहाँहरु प्रस्तुत हुनुहुन्छ र ? त्यो बिजोग (श्रमिक मजदुर बाटोमा हिडेको)सँग रमाइलो गर्नेगरी उहाँहरु प्रस्तुत हुनुभयो ।’

प्रधानमन्त्रीले राती फोटो खिचेर बिहान छापेको भन्दै पनि आपत्ति जनाएका छन् । ‘अघिल्ला दिन मान्छेहरु अलपत्र परेको राती खिचेको फोटो भिडियो भोलिपल्ट ५ः२२ बजे अपलोड गरियो, त्यतिबेलासम्म जनताले दुःख पाउनुपर्ने थिएन, व्यवस्थापन भईसक्थ्यो तर सरकारलाई थाहा भएन, मेरो आग्रह छ, सरकारलाई जानकारी गराउनुस् ।’ उनले भने ।

उनले मान्छे दुःख परेको सिडिओ र प्रहरीलाई थाहा नहुने तर पत्रकार फोटो भिडियो खिच्न पत्रकार पुगेको भन्दै त्यसमा पनि विरोध गरे । ‘एउटा पत्रकार चाँही त्यहाँ कसरी पुगिसक्छ ? त्यहाँको प्रहरीलाई थाहा छैन, त्यहाँको सिडिओलाई थाहा छैन, तर मान्छे हुर्र निस्केर गन्तव्यतिर लाग्दा पत्रकारलाई चाँही थाहा हुन्छ र काठमाडौंबाट क्यामेरा बोकीवरी पुगेका हुन्छन् कसरी ? उनले प्रश्न गरे, रहस्यपूर्ण छैन र ?’ प्रधानमन्त्री ओलीले विरोधको अस्त्र नबनाउन आग्रह समेत गरेका छन् ।

संयन्त्रप्रति रोष प्रकट
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीमा राजनीतिक संयन्त्र बनाउने विषयलाई लिएर पनि चर्को विरोध जनाएका छन् । उनले संयन्त्रको विषयमा नेतृत्वको जस लिन पाइन भनेर र मैले चलाएको छु भन्न नपाएर कुण्ठाग्रस्त मानसिकता पोखिएको आरोप समेत लगाए । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै नेतृत्वमा सबै दललाई समेटेर संयन्त्र बनाउँदा राम्रो हुने अभिव्यक्ति दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।