काठमाडौँ — कोभिड–१९ को संक्रमण भई उपचाररत २१ जनामध्ये २० जनाको प्रारम्भिक आरडीटी जाँचको नतिजा नेगेटिभ देखिएपछि विशेषज्ञहरूले किटको विश्वसनीयता र गुणस्तरमा चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार दिउँसो ४ बजेसम्म सरकारद्वारा घोषित कुल ४१ संक्रमितमध्ये १० को प्रारम्भिक परीक्षण आरडीटी नगरी पीसीआरबाट गरिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मुलुकमा ८ हजार ७ सय ६३ नमुनाको पीसीआर र २७ हजार ९ सय ५६ नमुनाको आरडीटीबाट परीक्षण गरिएको छ । कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रले त्यहाँ रहेका १३ जना संक्रमितको आरडीटी परीक्षण गर्दा नेगेटिभ देखिएकामा पछि पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको बताइन । ती १३ जनाको आरडीटी नेगेटिभ देखिए पनि द्रुत परीक्षण गरिएकामध्ये १० प्रतिशतको पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको उनले बताइन् ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार हाल त्यहाँ रहेका चार जना संक्रमितको आरडीटी परीक्षणमा सबैको नतिजा पोजिटिभ देखिएको थियो । ‘आरडीटी नतिजा अत्यन्त शंकास्पद छ,’ डा.उपाध्याय भन्छन्, ‘हामीले चारै जनाको आरडीटी गर्दा नेगेटिभ आयो । घाँटीको र्‍यालको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखियो ।’ मुलुकमा कोभिड–१९ को पोजिटिभ केस देखिएको ठाउँमा संक्रमणको वास्तविक स्थिति जान्न व्यापक अध्ययन अनुसन्धान हुनुपर्ने आवश्यकता उनी औंल्याउँछन । तर यस्तो वास्तविक स्थिति जान्न गरिने अध्ययन, अनुसन्धान पीसीआर परीक्षणको दायरा बढाएर हुनुपर्ने पनि उनको भनाइ छ । आरडीटीभन्दा पनि पीसीआरमै भर पर्नुपर्ने उनको सुझाव छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार त्यहाँ रहेका बेलायतबाट आएका दुई जना संक्रमितलाई पहिले आरडीटीबाट जाँच गर्दा महिलालाई मात्र पोजिटिभ र अर्का व्यक्तिमा नेगेटिभ देखिएको थियो । पछि दुवै जनाको पीसीआर परीक्षण गर्दा रिपोर्टमा संक्रमण पोजिटिभ देखियो ।

पाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विष्णप्रसाद शर्माका अनुसार त्यहाँ भर्ना रहेका ८१ वर्षीया आमा र उनका छोरालाई पहिले आरडीटीबाट परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । पछि पीसीआरबाट जाँच गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो ।

सेती अञ्चल अस्पतालमा भएका पाँच जना संक्रमितको एकैपटक पीसीआर परीक्षण गरिँदा पोजिटिभ देखिएको डा.शेरबहादुर कमर बताउँछन् । त्यहाँ पहिले आरडीटी परीक्षण गरिएको थिएन ।

यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हालसम्म आएका तीन जना संक्रमितको पहिचान पीसीआर विधिबाट गरिएको औंल्याउँदै निर्देशक डा.सागरकुमार राजभण्डारीले भने, ‘रोग पहिचानका लागि आरडीटीभन्दा पीसीआर नै ठीक छ, यसैमा भर पर्नु आवश्यक हुन्छ ।’ आरडीटीले पोजिटिभ वा नेगेटिभ जे देखाए पनि अन्तिम निक्र्यौलका लागि पीसीआर नै गर्नुपर्ने उनले बताएकाे कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।