काठमाडौं १७ वैशाख । भारतबाट फर्किएको ४९ दिनपछि पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले १४ दिन क्वारेन्टाइन बस्ने र त्यस अवधीमा संक्रमण नदेखिएमा समाजमा घुलमिल हुने गरेकोमा ४९ दिनमा पनि कोरोना देखिएको हो ।

पर्सा र बारामा बुधबार भेटिएका तीन जना कोरोना संक्रामित भारतस्थित दिल्लीको मुस्लिम धार्मिकसभा (तबलिगी जमात)मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ । यसअघि गत आइतबार कोरोनाको पुष्टि भएका वीरगन्जका दुइ मध्ये एक जना संक्रमित पनि दिल्लीकै तबलिगी जमातामा सहभागी भइ घर फर्किएको पुष्टि भएको थियो । त्यसअघि चैत ३० मा वीरगन्जको मस्जिदमा भेटिएका तीन जना भारतीय संक्रमित पनि दिल्लीकै तबलिगी जमातामा सहभागी नेपाल आएर बसेका थिए । यसरी चैत ३० अघि नै धार्मिकसभासँगै भएकालाई कोरोना देखिएकोमा बुधबार थपमा पनि कोरोना देखिएको हो ।

बुधबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का ४३ वर्षीय, बाराकै सिम्रौनगढ नगरपालिका–४ का ३१ वर्षीय र पर्साको वीरगन्ज महानगरपालिका–२ छपकैयाका ४६ वर्षीय तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

बुधबार कोरोनाको संक्रमण पुष्टि भएका बारा र पर्साका तीनै जना संक्रमित मार्च १ देखि १५ सम्म दिल्लीमा भएको तबलिगी जमातमा सहभागी भइ नेपाल फर्किएको खुलेको सुरक्षा स्रोतले जनाएको छ । संक्रमितहरुको ट्राभल हिष्ट्री अध्ययन गर्दा उनीहरु मार्च ६ मा दिल्ली गएर धार्मिक सभामा सहभागी भई मार्च ११ अर्थात गत फागुन २८ गते नेपाल फर्किएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।