काठमाडौं २० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकले पार्टी एकतालाई बलियो बनाउँदै लैजाने र कोरोना भाइरसका विरुद्ध एकजुट भएर लाग्ने निर्णय गरेको छ । बैठकले पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले आगामी २५ वैशाखमा पार्टी स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारसँग बताए । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने भएको छ ।
उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मलोचना गरेका छन् । यसअघि आफ्नो कार्यशैलीका कारण ओली पार्टीभित्र विवादित बनेका थिए भने पार्टीकै बरिष्ठ नेताहरुले उनको राजीनामा माग गर्दै आएका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको छ ।
नेकपाले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार समेत बनाउने निर्णय गरेको छ ।