काठमाडौं २० वैशाख । बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

निर्वाचनमा पराजित बनेका गौतम प्रतिनिधिसभामा जान मरिहत्तै गर्दै आएका छन् । उनको नाम पटक पटक चर्चा र विवादमा आउने गरेको छ । पार्टीले उनलाई उपयुक्त समयमा उम्मेदवार बनाउने निर्णय गरे पनि उनका लागि अर्को कुनै सांसदले राजीनामा दिनुपर्नेछ । त्यसपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुनेछ । गौतम प्रतिनिधिसभा सदस्य बन्न उपनिर्वाचनमा विजयी हुनेपर्नेछ । तर, कहिले र कसरी उनी उम्मदेवार बन्छन् भन्ने कुनै टुंगो छैन ।

गौतमको नाम राष्ट्रियसभामा आउने विषयमा समेत चर्चा र विवादमा रहँदै आएको थियो । यसअघि पार्टीले उनलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने प्रस्ताव गर्दा प्रधानमन्त्री बन्न पाउने भए मात्र उम्मेदवार बन्ने बताएका थिए । राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छ । संविधान संशोधन गर्नेसम्मको बहस भएको थियो ।

उनले एक पटक राष्ट्रियसभामा आउन अस्वीकार गरेकोमा पुनः पछि आउने इच्छा देखाएका थिए । त्यतिबेला प्रधानमन्त्री ओलीले उनलाई सिफारिस नगरेर डा. युवराज खतिवडालाई नै निरन्तरता दिएका थिए । पुनः गौतम चर्चामा आएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।