काठमाडौँ — नेकपा सचिवालयको शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘नाटकीय’ रूपमा परिवर्तन भए । बैठक सुरु हुनुअघिसम्मको स्थितिअनुसार उनी शनिबार पनि त्यसैगरी कड्किनुपर्ने हो, जसरी बुधबार प्रस्तुत भएका थिए ।
तर माहोल एकाएक शान्त र शालीन बनेपछि बैठकमा उपस्थित अरू सचिवालय सदस्यहरू पनि छक्क परे । वरिष्ठ नेता माधवकुमार नेपालले त पार्टी विधि र पद्धतिमा चलाउने र आपसी सहमतिका आधारमा अघि बढ्ने अध्यक्षद्वयको प्रतिबद्धतालाई ‘शंकाको सुविधा’ सहित हेर्ने प्रतिक्रिया दिए ।
बुधबार गर्मागर्मी वादविवाद गरेर बाहिरिएका नेकपा सचिवालय सदस्यहरूको शनिबार साँझको छलफल सौहार्दपूर्ण रूपमा कसरी अगाडि बढ्यो ? बराबरी हैसियतमा बसेर अध्यक्षद्वय केपी शर्मा ओली र दाहालले पार्टी एकताबारे उस्तै खालको अभिव्यक्ति दिन कसरी सम्भव भयो ? जबकि बुधबारको बैठकमा दाहालको आक्रोश, शुक्रबार ओली र दाहालबीचको भेटमा भएका असमझदारी र शनिबार दिउँसोसम्मको राजनीतिक घटनाक्रमले सचिवालयको बैठक बहुमत–अल्पमतकै लडाइँमा पुगेर रोकिन्छ भन्ने आकलन स्वयं नेताहरूले पनि गरेका थिए ।
हामीले अध्यक्षद्वय, वरिष्ठ नेता नेपाल र सचिवालय सदस्यहरूको ब्रिफिङ सुनेका केही नेतासँग कुराकानी गरेपछि शनिबार ओली र दाहालबीच भएका छलफल र सहमतिको फेहरिस्त निकालेका छौं । त्यसको पृष्ठभूमिमा प्रधानमन्त्रीका लागि चर्चामा आएका पार्टी उपाध्यक्ष वामदेव गौतमको निर्णयले ‘भूमिका’ खेलेको देखिन्छ । नेकपाको शक्ति सन्तुलनमा रोमाञ्चक तरिकाले परिवर्तन हुनुको कारण गौतमकै भूमिकाबाट खोतल्न सुरु गरौं ।
उपाध्यक्ष गौतम शनिबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे । त्यही समयमा उनलाई अर्का अध्यक्ष दाहालले पनि बोलाएका थिए तर गौतमको प्राथमिकतामा बालुवाटार पर्यो । त्यहाँ ओली र गौतमबीच ०४८ सालयताको मित्रता सम्झिएर लामो गन्थनमन्थन चल्यो । छलफलको सहजीकरण महासचिव विष्णु पौडेलले गरे । उनले गौतमलाई ओलीको पक्षमा लैजान भरमग्दुर प्रयास गरिरहेका थिए । स्रोतहरूका अनुसार छलफलमा ओली धेरै भावुक भएर प्रस्तुत भए । ‘तपाईंको र मेरो मित्रता पुरानै हो, तपाईंकै कारण म पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न सकेको हुँ,’ ओलीले गौतमसँग भनें, ‘तपाईंले लगाएको गुन म बिर्सिन सक्दिनँ, म पछिको प्रधानमन्त्री तपाईं नै, यो बेला मलाई सहयोग गर्नुस् ।’
आफ्नो पुरानो मित्रले आफूपछिको विरासत थाम्नुपर्छ भन्दै प्रतिनिधिसभा सदस्य बनाउन आश्वासन दिएपछि गौतम पग्लिहाले । अर्काे कारण दाहाल–नेपाल गुटले भावी प्रधानमन्त्रीका रूपमा नेपाललाई अघि सारिरहेको सन्दर्भमा ओलीले आफ्नो विकल्प गौतम नै हुन सक्ने बताएपछि उनलाई ओली क्याम्पमा छिर्ने निर्णय गर्न कठिन भएन, उनको निर्णायक मतले सचिवालयमा ओलीको पल्ला भारी भयो ।
यता खुमलटारमा पर्खेर बसिरहेका दाहाललाई भेट्न गौतम गएनन्, बरु फोन गरेर आफू ओलीको गुटमा गएको जानकारी गराए । बालुवाटार स्रोतका अनुसार गौतमले ‘मैले तपाईंहरूको गुट छाडें, हामीले भैंसेपाटीमा बसेर जे जे सहमति गरेका थियौं, मेरातर्फबाट फिर्ता लिन्छु, बरु माधवजीलाई छाडिदिनुस् तपाईं पनि हाम्रो कित्तामा मिल्न आउनुस्, अध्यक्षलाई सहयोग गरौं’ भनेका थिए । दाहालले गौतमलाई के जवाफ दिए भन्ने खुलिसकेको छैन, लगत्तै उनले नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसँग फोनमा संवाद गरे ।
नेपालले पार्टी र सरकार विधि, पद्धति र अनुशासनमा चल्नुपर्ने भएकाले आफूहरू त्यही हिसाबले अघि बढ्नुपर्ने धारणा राखे । खनालले अहिलेको मूल एजेन्डा स्थायी कमिटी बैठक नै हुनुपर्ने बताए । स्थायी कमिटी बैठक बोलाउने एजेन्डा नै अहिलेका लागि सबैभन्दा उत्तम विकल्प हुने निष्कर्षमा तीन नेता पुगे ।
गौतमले क्याम्प फेरिसकेको थाहा पाएपछि दाहाल केही हडबडाएका भने थिए । अरू सचिवालय सदस्यहरूसँगै बैठक कक्षमा ओलीलाई पर्खिएर बसेका दाहालसँग राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट फर्किएका प्रधानमन्त्री ओलीले एकछिन छुट्टै भेट्न चाहे । त्यसपछि उनीहरूबीच एक्लाएक्लै कुराकानी भएको थियो । सचिवालय बैठक सुरु हुनुअघि दुई अध्यक्षबीच मात्रै भएको करिब १५ मिनेटको छलफलमा भने मित्रताको हात ओलीले नै अघि बढाए । ओलीले मिलेरै जाने प्रस्ताव गरेका थिए । ‘अहिलेलाई मेरो राजीनामाका कुरा ननिकाल्नुस्, योबीचमा तपाईंले पनि खेल्न खोज्नुभयो, मैले पनि खेल्न खोजें, मैले अलि धेरै गरें कि भन्ने महसुस भएको छ,’ ओलीले दाहाललाई भने, ‘पुरानै सहमतिअनुसार जाऔं, तपाईं पार्टी चलाउनुस्, पार्टीको निर्देशनमा म सरकार चलाउँछु ।’
स्रोतहरूको भनाइअनुसार ओलीको यो प्रस्ताव स्थायी कमिटी सदस्य शंकर पोखरेलसहितका ओली पक्षीय केही नेताहरूले तयार पारेका थिए । यो कुरा किन पनि पुष्टि हुन्छ भने दाहालसँग मिलेरै जाने गरी बालुवाटारले दिउँसैदेखि तयारी गरेको थियो । ‘हाम्रो तयारी दुई किसिमको थियो,’ ओली समूहका एक स्थायी कमिटी सदस्यले कान्तिपुरसँग भने, ‘पहिलो त अहिलेसम्मका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने, नियुक्तिलगायतका कुरामा सहमति गर्ने र प्रचण्डजीलाई कार्यकारी अध्यक्षको सम्पूर्ण हैसियत प्रदान गर्ने,’ ती नेताले भने, ‘यो अस्त्रले काम नगरे बहुमत–अल्पमतमै जाने स्थिति आउँदा पनि हामीसँग पाँच जना सचिवालय सदस्य हुनुहुन्थ्यो ।’ उनका अनुसार सचिवालयमा बबन्डर भएर स्थायी कमिटीमा विषय लैजाने निधो भयो भने त्यहाँ आफूहरू झन् कमजोर हुने निचोडसहित ओली पक्षीय नेताहरू सकेसम्म झुकेरै जानुपर्छ भन्ने लाइनमा थिए । त्यसैले ओली शीलत निवास जानुअघि नै दुवै अध्यक्षको बराबरी हैसियतसहितको टेबलकुर्सी तयार पारिएको थियो ।
कुराकानीमा ओलीले दाहाललाई एक व्यक्ति, एक जिम्मेवारी हुनुपर्ने दाहाल–नेपाल पक्षीय नेताहरूको बटमलाइन आफूले मान्ने भन्दै पार्टीको पूरै जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । एक व्यक्ति, एक जिम्मेवारी भनेको एक व्यक्ति एक पद होइन भन्नेमा उनीहरूबीच स्पष्टै सहमति भएको छ ।
कुराकानीमा ओलीले आफूले अहिलेसम्मका सबै गल्तीमा आत्मालोचना गर्ने बताउँदै त्यसका लागि दाहाल पनि तयार हुनुपर्ने धारणा राखे । यही सहमतिसहित बैठकस्थलमा छिरेका दाहाल र ओलीले आ–आफ्नो पोजिसन पूरापूर परिवर्तन गरे । ओलीले पार्टी एकीकरणको दुई वर्षपछि आफूबाट गल्ती भएको भनेर पहिलो पटक शनिबार नै स्वीकार गरेका हुन् । नत्र उठेका प्रश्नहरूको जवाफ बैठक र सार्वजनिक कार्यक्रमहरूमार्फत दिँदा उनले कहिल्यै पनि आफूबाट गल्ती भयो भन्ने गरेका थिएनन् । आजको कान्तिपुरमा समाचार प्रकाशित छ ।