काठमाडौं २२ वैशाख । सरकारले कोरोना भाइरस नफैलियोस् भनेर गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ । तर, यो बिचमा परीक्षण भने कछुवाको गतिमा रहेको पाइएको छ ।

सरकारले अहिलेसम्म पिसिआरमार्फत १३ हजार ४ सय २० जनाको मात्र परीक्षण गरेको छ । महिना दिन बढीदेखि लकडाउन गरेर संक्रमण रोक्न प्रयास गरेको सरकारले परीक्षणको गति भने बढाउन नसकेको हो ।

सरकारले आरडिटीमार्फत ४९ हजार ६८८ जनाको परीक्षण गरेपनि आरडिटीमा पोजेटिभ देखिएकालाई सरकारले नै मान्यता दिएको छैन । कतिपयमा आरडिटीमा पोजेटिभ देखिएको पिसिआरमा नेगेटिभ र आरडिटीमा नेगेटिभ देखिएकालाई पिसिआरमा पोजेटिभ समेत देखिने गरेको छ । यसरी आरडिटीको विश्वसनियता नै नभएको अवस्थामा पिसिआरको परीक्षण मात्रा बढाउनु पर्नेमा गति सुस्त देखिएको हो ।

कोभिड १९ पत्ता लगाउन रियल टाइम पिसीआरनै उपयुक्त विधि रहेको विज्ञहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १७ स्थानवाट आरटीपिसीआर प्रविधि मार्फत् कोरोना परीक्षण हुँदै आएको छ ।

परीक्षण सुस्त गतिमा बढ्दा कोरोनाको खतरा भने झन् बढी समुदायमा हुन थालेको छ । नेपालमा ७५ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । जसमध्ये १६ जना निको भएपनि शनिबार मात्र १५ जना नयाँ संक्रमित थपिन पुगेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।