काठमाडौँ — नुवाकोट शीतलबेसीकी सुनिता कार्की ८ महिनाकी गर्भवती छिन् । नियमित परीक्षण गराउन शुक्रबार काठमाडौं आइपुगिन् । बाटैबाट चाबहिलस्थित घरबेटीलाई फोन गरिन् । ‘घरमा आउन त आऊ तर, टेकुमा कोरोना परीक्षण गरेर मात्रै आऊ’ भनेपछि कोठामा नगई उनी सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपाल पुगिन् ।
उनको साथमा बहिनी पनि थिइन् । दुवैले लाइन लागेर चिकित्सकलाई भेटे । ‘किन आउनुभएको’ भन्ने चिकित्सकको प्रश्नमा उनले घरबेटीले कोरोना परीक्षण गरेर आउनु भनेकोले आएको बताइन् । चिकित्सकले ‘विदेश, नेपालगन्ज, तराईका जिल्ला, उदयरपुर कहीँ जानुभएको छ, विदेशबाट आउनेको सम्पर्कमा हुनुहुन्छ, ज्वरो, खोकी छ कि छैन’ भनेर सोधे । उनले जवाफमा नाइ र छैन मात्रै फर्काइन् ।
सुनिताले सोचेकी थिइन् अब रगत र र्याल पनि परीक्षण हुन्छ होला, त्यही रिपोर्ट लिएर घरबेटीलाई देखाउँछु । अस्पतालले उनको न त रगत परीक्षण गर्यो, न त स्वाब नै । सुनिताले दिएको जवाफकै आधारमा चिकित्सकले उनमा कोरोनाको लक्षण नभएको भन्दै लेखेर पठाइदिए । यहाँका चिकित्सकहरुले परीक्षण गर्न आउनेहरुसँग परामर्श गरेर यात्रा विवरण र भेटघाटको आधारमा कोरोनाको लक्षण भए–नभएको लेखेर पठाइदिने गरेका छन् ।
आइतबार अस्पताल पुग्दा स्वाब संकलन गर्ने ठाउँमा दुई चिकित्सक परामर्शका लागि बसेका देखिए । उनीहरुले परीक्षण गर्न आउनको ज्वरो नाप्थे । कहाँबाट आएको, कसलाई भेटेका छन् र कहाँ–कहाँ जानुभएको छ जस्ता प्रश्न सोधेका आधारमा कोराना नभएको प्रमाणित गरिदिन्थे । यतिसम्म कि ज्वरो आएर अन्य अस्पतालले रेफर गरेका बिरामीको समेत परीक्षण गरिएको थिएन । परीक्षण नभएका मध्येका एक हुन् डिल्लीबजारका मुकेशकुमार ठाकुर ।
ज्वरो आएपछि मुकेशलाई उनका बुबा नन्दलालले शनिबार हिँडाएरै वीर अस्तपाल पुर्याए । ओपीडी बन्द भएकाले उनलाई आकस्मिक कक्षमा पठाइयो, त्यहाँबाट ज्वरो क्लिनिक । ९९ डिग्री फरेनहाइट तापक्रम देखिएपछि कोरोना जाँच गर्न टेकु अस्तपाल जान भनियो । नन्दलालले बिरामी छोरालाई हिँडाएरै टेकु पुर्याए । टेकुमा पनि आकस्मिकबाहेक अन्य सेवा सञ्चालनमा थिएन । सामान्य सोधपुछ गरेर आइतबार आउन भन्दै चिकित्सकले फिर्ता पठाए । आइतबार १० बजे नै उनीहरु टेकु पुगे । तर, कोभिड परीक्षण भने भएन । आजको कान्तिपुरमा खबर छ ।