काठमाडौं । सरकारले श्रमिक मजदुर तथा अलपत्र परेकाहरूलाई लकडाउनमा घरभित्र थुनेपनि राजनीतिक पहुँच भएकाहरूलाई भने धमाधम काठमाडौं भित्रन र बाहिर जान दिइरहेको छ ।
गृह मन्त्रालय आफैंले एक जिल्लाबाट अर्को जिल्ला जाने पास खारेज गरेको छ । जिल्लाभित्र चल्ने पास पनि खारेज गरेको छ अझ काठमाडौं उपत्यका भित्रनेको हकमा अनिवार्य रुपमा गृहको सहमति चाहिने नियम छ । तर, सरकारी उच्च अधिकारीकै निर्देशनमा राजनीतिक पहुँच भएकाहरूलाइ काठमाडौं भित्रन र बाहिरिनेका लागि कुनै रोकतोक छैन ।

सरकारको उच्च तहको अनुमतिमा शुक्रबार राती आधा दर्जन बढी गाडीलाई रातरात कलंकीबाट उपत्यका बाहिर पठाइरहेको फेला परेको छ । त्यो पनि कस्तो अवस्थामा भने कोही पहुँच नभएको बिरामी व्यक्ति उपत्यका बाहिर जानु परेमा सम्बन्धित जिल्लाको सिडियोको सिफारिस र काठमाडौं जिल्लाको सिफारिस चाहिने भन्दै सिडियो कार्यालयमा धाउन लगाउने र पहुँचवालालाई भने त्यसरी रातको समयमा पठाउने गरेको पाइएको हो । नागढुंगाका एक स्थानीयका अनुसार केही दिन अघि यसरी नै उपत्यका बाहिरबाट पनि यात्रु ल्याएर नागढुंगा चेकपाेस्ट नजिकै छाडिएकाे थियाे ।
सरकारको उच्च तहको मौखिक आदेशमा शुक्रबार राती मात्र ७ वटा गाडीले मानिस बोकेर बझाङ हिडेका छन् । त्यसरी यात्रु बोकेर जाने गाडी नम्बरहरु ना ५ ख १५६१, ना ८ ख ६३६१, ना ६ ख ८३४ रहेका छन् । लकडाउनमा त्यसरी यात्रु पठाउन सांसद आशा विक आफैं कलंकी पुगेकी थिइन् ।

यात्रु पठाउन समन्वय गरिहेका एक विद्यार्थी नेताका अनुसार एउटा गाडीमा ४५ जना यात्रु लगिने र ७ वटा गाडीमा पठाउने तयारी छ । अन्य गाडी चक्रपथ फन्को मारेर यात्रु टिप्दै आइरहेको उनले जनाए । त्यहाँका तीन वटा गाडी पनि चक्रपथ फन्को लगाएर आएका हुन् ।
त्यसरी कलंकीबाट बझाङ यात्रु पठाउँदैं गर्दा स्वयम्भुबाट खटिएको प्रहरीको टोली पनि कलंकी पुगेको थियो । गृह मन्त्रालयको सचिवको निर्देशनमा आफूले मान्छे पठाउन लागेको भनेपछि माथिल्लो निकायमा फोन गरे लगत्तै प्रहरी फर्किएको थियो । त्यसपछि कोचाकोचा गरेर यात्रुहरुलाई बझाङ पठाउने काम भएको थियो ।
यसरी, सरकारले पहुँच नभएका मजदुर, श्रमिक, विद्यार्थीहरुलाई गाउँ फर्कन नदिएर कोठाभित्रै थुनेर राखेको छ । पहुँचवालालाई भने रातारात जान दिइरहेको छ । महानगरीय प्रहरी महाशाखाका प्रमुख भिम ढकालले आफूलाई यसबारेमा थाहा नभएको प्रतिक्रिया दिए ।









