काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि समेटेर जारी गरिएको नक्सालाई आधिकारिकता दिने कुरामा सबै दल ठाउँमा उभिन आग्रह गरेका छन् ।

सरकारले भारतद्धारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेसँगै सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउन निशान चिह्न संशोधनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

त्यसलाई सर्वसम्मत पास गराउने विषयमा प्रधानमन्त्री ओलीले मंगलबार आह्वान गरेको छलफलमा सबैलाई एकजुट हुन आग्रह गरेका हुन् ।

उनले संविधानमा विभिन्न राजनीतिक दलका आफ्ना फरक मत रहेको भन्दै अहिलेलाई ती कुरालाई भुल्न आग्रह गरेका छन् । ‘विभिन्न दलका संशोधन गर्ने प्रस्ताव पनि होलान् । संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता अनुसार भोलिका दिनमा संशोधन गर्न सकिन्छ ।’ उनले बैठकमा भने, ‘तर अहिलेलाई भारतले हडपेको भूमि समेटेर जारी गरिएको नक्सालाई आधिकारिकता दिने कुरामा सबै दल सहमत बनौँ ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका अरु मागका विषयमा छलफल हुँदै जाने भन्दै अहिले निशान छाप सर्वसम्मत रुपमा संशाोधन गरिनपर्ने जनाए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ नक्साबारे संविधान संशोधनमा सहमति जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।