सर्वदलिय बैठकमा कांग्रेसले भन्यो ‘भोट पक्षमा हाल्छौं तर एक पटक छलफल गर्छौ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलिय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक पटक पार्टीभित्र छलफल गर्नका लागि समय मागेको छ ।

संविधान संशोधन सर्वसम्मत गराउन प्रधानमन्त्री ओलीले आह्वान गरेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ नक्साबारे संविधान संशोधनमा सहमति जनाएको छ । तर, उसले एक पटक पार्टीभित्र छलफल गर्ने भन्दै सर्वदलिय बैठकमा समय माग गरेको छ ।

‘संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं ।’ कांग्रेसले बैठकमा राखेको धारणा उदृत गर्दै पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।
कांग्रेसलले बैठकमा उच्च स्तरीय कुटनैतिक पहल मार्फत सिमा विवाद हल गरिनुपर्ने बताउँदै त्यस विषयमा कांग्रेस सरकारको साथमा रहेको जनाएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले आफूहरु नक्साकै पक्षमा भोट हाल्ने जनाउँदै एक पटक छलफल गर्ने बताएपछि प्रधानमन्त्रीले चाँडो नक्सालाई आधिकारिकता दिनुपर्ने भएकाले संवेदनशीलतालाई बुझिदिन आग्रह गरेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।