काठमाडौँ — कलेजोको बिरामी ५६ वर्षीय पुरुषको बुधबार साँझ ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भयो । कोरोनाकै कारण मृत्यु भएको रिपोर्ट पनि आयो । अब प्रहरी प्रशासनलाई फसाद पर्‍यो– शवको व्यवस्थापन कसरी गर्ने † यही अन्योलका कारण शव रातभर अस्पतालमै रह्यो ।

भोलिपल्ट पनि दिनभरि शव उठेन । बिहीबार पौने ५ बजे बल्ल शव अस्पतालबाट निकालियो । राजदल गणका कर्णेल उत्तम सापकोटा र महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको टोलीले शव एस्कर्टिङ गरेर ६ बजे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पुर्‍यायो । तर, शवदाह गृहमा ताल्चा लगाइएको थियो । साँझ ७ बजेसम्म ड्युटी गर्नुपर्ने कर्मचारी कोरोनाले मृत्यु भएका व्यक्तिको शव ल्याउने खबर पाएपछि ६ बजेअघि नै ताल्चा लगाएर निस्किसकेका थिए ।

कर्णेल सापकोटाले पशुपति विकास कोषका पदाधिकारी र कर्मचारीसँग समन्वय गरेर शव लगेका थिए । ‘कर्मचारी तयारी अवस्थामा छन्, ल्याउँदा हुन्छ भनेपछि हामीले लगेका थियौं,’ घाटमा पुगेका एक प्रहरीले भने, ‘त्यहाँ शव पुर्‍याउँदा कर्मचारी कोही थिएनन् । गेटमा पनि ताल्चा लगाइएको थियो ।’

प्रहरीको समन्वयमा पशुपति विकास कोषका पदाधिकारीलाई बोलाइयो । कोषका सदस्यसचिव प्रदीप ढकालसहितको टोली आत्तिँदै आइपुग्यो । उनीहरू आउँदासम्म कोरोना संक्रमित पुरुषको शवलाई सेना र प्रहरीले सुरक्षा दिएर राखेको थियो । ‘म आफैं गएर ढोकाको ताल्चा फुटाएँ,’ ढकालले भने, ‘धुलिखेलमा मृत्यु भएकी संक्रमित महिलाको शव अन्त्येष्टि गरेर क्वारेन्टाइनमा बसेका साथीहरूलाई बोलाएर ती पुरुषको शव अन्त्येष्टि गर्‍यौं ।’ धुलिखेलकी महिलाको शव अन्त्येष्टि गरेको बिहीबार १३ दिन भएको थियो ।

सदस्यसचिव ढकालले पशुपतिस्थित किरियापुत्री घरमै क्वारेन्टाइनमा बसेका अर्जुन खड्का र पूर्णबहादुर कार्कीलाई बोलाएर शव अन्त्येष्टि गराएका हुन् । कर्मचारी व्यवस्थापन गर्न ढिलाइ भएपछि साढे ७ बजे मात्रै ती पुरुषको शव विद्युतीय शवदाह गृहमा हालिएको थियो । ‘साथीहरूसँग पीपीई केही थिएन, डराएर गएको हुनुपर्छ । हामीसँग पनि केही थिएन । अन्त्येष्टि गर्ने बेलामा प्रहरीले ल्याइदिए,’ संक्रमित व्यक्तिको शव व्यवस्थापनमा खटिएका पूर्णले भने, ‘डर पनि लाग्यो । अरूले नगरेको काम गर्न पाउँदा खुसी पनि भएँ ।’

शव अन्त्येष्टि गर्न डराएर भाग्ने चार जनालाई स्पष्टीकरण सोधिसकेको सदस्यसचिव ढकालले बताए । यसमा शाखा अधिकृत, खरिदार, इलेक्ट्रिसियन र कार्यालय सहयोगी छन् । ‘उनीहरूले आफ्नो ड्युटीको समय पूरा नगरी भागेकाले कारबाही हुन्छ,’ उनले भने । विद्युतीय शवदाह गृहमा शव व्यवस्थापन गर्न ६ जना कर्मचारी छन् । आठ/आठ घण्टाको ड्युटी समय निर्धारण गरेर दुई/दुई जना खटाइएको छ । दुई जनामध्ये एक जना ट्रली ठेल्ने, शव राखेको बाँसको खट मिलाउने र एक जना स्वीच थिच्ने इलेक्ट्रिसियन हुन्छन् । शव अन्त्येष्टिमा संलग्न दुई जना पुन: क्वारेन्टाइनमै फर्केका छन् । – कान्तिपुरबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।