राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ ।

राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरु हुनुअघिको होइन । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ जेठमा सार्वजनिक गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले १३ जेठको सूचनाअनुसार एक करोड ५७ लाख र १७ जेठको सूचनाअनुसार २७ लाख रुपैँया खर्च गर्न थालेको हो ।

विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले हिमालयन डेकोर तथा श्री विकोई-इन्द्रेणी-सुप्रिम जेभिईलाई दिने निर्णय गत ९ जेठमा गरेको हो । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा यसरी पौने दुई करोड खर्च गर्न लागिएको छ ।

‘संकटको यो वेला अत्यावश्यक खर्च मात्र गर्ने सरकारी नीति छ,’ सहरी विकास विभागकै एक अधिकारी भन्छन्, ‘तर, राष्ट्रपति कार्यालयका लागि हो भनेपछि हामी बोल्न मिलेन, भएका सामान फालेर नयाँ सामान किन्ने काम भइरहेको छ ।’

राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् ।

त्यस्तै, राष्ट्रपति कार्यालयको बगैँचा सजाउन मात्र वार्षिक ४२ लाख रुपैयाँ खर्च हुने गरेको छ । यो वर्ष बजेट व्यवस्थापनका लागि राष्ट्रपति कार्यालयले प्रितम बगैँचा निर्माण प्रालि, कागेश्वरी मनहरालाई ४२ लाख आठ हजार ६ सय ४० रुपैयाँमा ठेक्का दिएको छ । गत असोजमा नै सो कम्पनीलाई यससम्बन्धी ठेक्का दिइएको स्रोत बताउँछ । नयाँपत्रिकामा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।