काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत छनोटका लागि पुनः एक व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि विपरित चलखेल भएको पाइएको छ ।
केयुकेएलमा यसअघि नै नियम विपरित काम हुँदै आएकोमा फेरि पनि प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी कार्यविधि, २०७६ लाई लत्याउने काम भएको हो ।
कार्यविधिको बुँदा नम्बर ७ मा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त दिएको सुचनाको म्यादभित्र तीनवटा भन्दा कम दरखास्त पर्न आएको खण्डमा मात्र सिफारिस समितिले पर्न आएका दरखास्तलाई कायमै राखी सात दिनको थप म्याई दिई पुनः राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने उल्लेख छ ।
दरखास्त बुझाउने म्याद लकडाउन अगाडी नै सकिएको र चार जनाले दरखास्त आवदेन दिईसकेको अवस्थामा एक जना व्यक्तिका लागि पुनः पुरक सूचना प्रकाशित गरिएको पाइएको हो । कार्यविधिमा दोब्बर दस्तुरमा थप म्यादको कल्पना गरिएको छैन भने प्रथम पटक प्रकाशित सूचनामा पनि दोब्बर दस्तुरको म्यादबारे खुलाइएको छैन ।
प्रमुख कार्यकारी अधिकृत छनौट सिफारिस समिति संयोजक तथा खानेपानी मन्त्रालयका सहसचिव रितेश शाक्य भने कार्यविधिमा कम्तिमा २१ दिन भनिएको र प्रथम पटक सूचनामा दोब्बर दस्तुरको मिति नतोकिएकाले पुनः पुरक सूचना निकालेर स्पष्ट पारिएको बताउँछन् ।
छनोट समितिले १८ फागुन २०७६ मा २१ दिनको समयावधी तोकेर प्रथम पटक सूचना प्रकाशित गरेको थियो । छनोट समितिले कार्यविधि विपरित पुनः पुरक सूचना निकालेर दोब्बर दस्तुर तिरेर १६ चैत २०७६ सम्म कायम गरेको थियो । पुनश्चः छनोट समितिले १३ चैतमा अर्को पूरक सूचना प्रकाशित गर्दै लकडाउन आदेश समाप्त भएको छैटौं दिनसम्म दरखास्त बुझाउन सकिने गरी सूचना प्रकाशित गरेको पाइएको छ ।
स्रोतका अनुसार अर्जुनबाबु ढकाल, सुन्दरबाबु अर्याल, डा. डोलप्रसाद चापागाईं र तिर्थराज भट्टको दरखास्त परिसकेको अवस्थामा हाल कायम मुकायमका रूपमा रहेका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यको दरखास्त छुट्न गएपछि पुनः पुरक सूचना प्रकाशित गरिएको हो । ‘मिलन शाक्यको दरखास्त छुट्न गएपछि कार्यविधि विपरित हुने गरी पटक पटक म्याद थपिएको छ, यो सबै खेल उनलाई बनाउनका लागि मात्र भएको हो ।’ स्रोतले राजधानीसँग भन्यो ।
लिमिटेडमा कानुन विपरित चलखेल हुन थालेपछि दरखास्त दिएका चारै जनाले २३ जेठमा सञ्चालक समितिसमक्ष कार्यविधि अनुसार नै छनोट प्रक्रिया अघि बढाउन निवेदन दिएका छन् । छनोट समितिले भने लकडाउन सकिएको छैटौं दिनसम्म दरखास्त लिन मिल्ने गरी सूचना प्रकाशित गरिसकेको छ ।

कार्यविधि निर्माणमै यस्तो भएको छ बदमासी

यसअघि नै लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी नियम विपरीत नीतिगत कार्य भएको पाइएको थियो ।
कार्यविधि संशोधन गरेर केयूकेएलको प्रमुख कार्यकारी अधिकृत नियुक्तसम्बन्धी कार्यविधिमा हाल कायम मुकायका रूपमा रहेका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई मात्र मान्य हुने मापदण्ड तय गरिएको स्रोतको दाबी छ ।
तत्कालीन महाप्रबन्धक डा. महेशप्रसाद भट्टराईको कार्यावधि १९ भदौ २०७६ मा सकिएपछि रिक्त पदमा लिमिटेडका १०औं तहका मिलन शाक्यले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएका छन् । दशौं तहको बहाल पदमा रहेका र कायम मुकायमको जिम्मेवारीमा समेत रहेका शाक्यले प्रमुख कार्यकारी अधिकृत पनि आफैं बन्न आफू अनुकुल नीति बनाउने कार्य गर्दै आएको केयुकेएलका अधिकारीले आरोप लगाउने गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत छनोट सम्बन्धी कार्यविधि उनै शाक्यलाई केन्द्रित गरेर संशोधन गरिएको स्रोत बताउँछ । कार्यविधिको बुँदा नम्बर ८ मा पूर्णांक १५० तोकिएको छ । जसमा शैक्षिक योग्यता अनुभव मात्र ७० तोकिएको छ । त्यस्तै, कार्यपत्र लेखन ४०, कार्यपत्र प्रस्तुतीकरण २० र अन्तर्वार्ता २० गरेर १५० पु¥याइएको छ । कार्यविधि २०७१ मा अंकभार क्रमशः ५०, ५०, ३० र २० तोकिएकोमा आफू अनुकुल संशोधन गरिएको स्रोतको दाबी छ ।
शैक्षिक योग्यता र अनुभवबापतको ७० अंकमा प्रथम, द्वितीय र तृतीय श्रेणीको क्रमशः २०, १८ र १५ अंक थप सम्बन्धित विषयको ४ र विद्यावारिधिको ६ अंक दिइएको छ । शाक्यले तत्कालीन सोभियत संघबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए भने पछि कार्यालयकै खर्चमा ईएमबीए गरेका थिए । उनको योग्यतालाई सहयोग पुग्ने गरी मापदण्ड तय गरिएको छ ।
यस्तै, ३० कार्य दिनको व्यवस्थापनसम्बन्धी तालिमको ५ अंक तोकिएको छ । शाक्यले स्टाफ कलेजबाट ३० दिनको व्यवस्थापनसम्बन्धी तालिम लिएको पाइएको छ । उनलाई आकर्षित हुने गरी यो व्यवस्था थप गरिएको हो । कार्य अनुभवबापत अधिकृत स्तरमा १० वर्षको अनुभवको १५, १० भन्दा माथि बढी प्रत्येक २ अंकका दरले १० अंक र विशेष अनुभव भएका भनी ९ तहबाट वा सोसरह काम गरेको प्रत्येक वर्षको २ अंकका दरले १० अंक विभाजन गरिएको छ । उक्त व्यवस्था हालकै प्रमुख कार्यकारी प्रमुखलाई विशेष ध्यान दिएर निर्माण गरिएको पाइएको हो ।
लिमिटेडको कार्यकारी छनोटका लागि नीतिगत तहमा नै बदमासी गरेर आफू अनुकूल नेतृत्व ल्याउन हालका कार्यकारी अधिकृतदेखि मन्त्रालयका सहसचिव तथा सम्बन्धित मन्त्रालयको नेतृत्वसम्मको चलखेलको आशंका लिमिटेड सरोकारवालाले गरेका छन् । राजधानी दैनिकबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।