भक्तपुर । आरडिटी पोजेटिभ देखिएकी सुत्केरी एक महिलाको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द गरिएको छ ।
सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको बच्चा जन्माएको करिव आधा घण्टामा मृत्यु भएपछि आज अस्पतालका सबै सेवा बन्द गरिएको हो।
सिन्धुपाल्चोक स्थायी घर भएका ती महिला अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ।
मास्कसमेत नलगाई अस्पताल आएका ती महिलालाई स्वास्थ्यकर्मीले मास्क लगाउन अनुरोध गर्दा श्वास फेर्न गाह्रो भएकोले नलगाएको बताएको एक स्वास्थ्यकर्मीले जानकारी दिए।
मृतक महिलाको कोरोनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। महिलाको शव अस्पतालको प्रसूती वार्डमा नै राखिएको छ। मृतक महिलाले केएमसी अस्पताल सिनामंगलमा नियमित स्वास्थ्य जाँच गर्दै आएको बुझिएको छ।