Wednesday, September 23, 2026
21.1 C
Kathmandu
Home ब्यानर कोरोनाबाट थप एकको मृत्यु, अस्पतालले गर्यो पुष्टि

कोरोनाबाट थप एकको मृत्यु, अस्पतालले गर्यो पुष्टि

नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने/नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले जानकारी दिए ।

शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए ।

परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।