काठमाडौं । यो माथिको तस्बीरमा देखिने व्यक्ति नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले हुन् । उनीमाथि अवैध तरिकाले ५ करोड बढी सम्पत्ति जोडेको भन्दै अदालतमा मुद्धा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काफ्लेले पदको दुरुपायोग गरी करोडौं रकम जोडेको तथ्य पाइएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काफ्लेसँग भएको सम्पत्तिमध्ये पाँच करोड ४३ लाख २७ हजार ९९ बराबरको लगानी तथा खर्चको स्रोत खुलेको छैन । अर्थात, उनले भ्रष्टचार गरेर त्यति रकम जोडेका हुन् ।
सर्वेक्षक काफ्ले २०५४ पुस १ गते सार्वजनिक सेवामा प्रवेश गरेको र २०७६ वैशाख ३० गतेसम्मको अवधिमा रु एक करोड ७४ लाख १४ हजार ५० मात्रै वैद्य आय रहेको आयोगको अनुसन्धानबाट खुलेको बताइएको छ ।
सेवा प्रवेश गरेपछिको अवधिमा काफ्लेले रु ७ करोड १७ लाख ४१ हजार १५० रुपैयाँ खर्च गरेका छन् । तर त्यसमा पाँच करोड ४३ लाख २७ हजार ९९ बराबरको लगानी तथा खर्चको स्रोत खुलेको छैन भने एक करोड ७४ लाख रुपैयाँ सम्पत्तिको मात्रै स्रोत देखाउन सकेका थिए ।
अख्तियारले पदको दुरुपायोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मंगलबार विशेष अदालतमा आरोपपत्र समेत दायर गरिसकेको छ ।
अख्तियारले काफ्लेले गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको पाइएको जनाएको छ । आयोगले सर्वेक्षक काफ्लेलाई हदैसम्मको कारबाही र श्रीमती सुशीलाको नाममा रहेको सम्पत्ति जफतको माग दाबी गरिएकाे छ भने काफ्ले विरुद्ध पाँच करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ बिगो माग दाबी गरिएकाे छ ।