काठमाडौं । सरकारले बिहीबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर पसलहरु सञ्चालन गर्न दिने र ट्याक्सी र निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सरकारले कृषि, उद्योग, व्यापार तथा यातायातमा पनि सहजता प्रदान दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार रातीसम्म बसेको मन्त्रीपरिषद बैठकले बिहीबारदेखि पसल खोल्न दिने निर्णय गर्नुका साथै जोर बिजोर प्रणालीमा ट्याक्सी तथा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हाे ।

उर्जा मन्त्री वर्षमान पुनले उपत्यकाको हकमा उपत्यका भित्र र बाहिर संक्रमण कम भएका जिल्लामा जिल्ला भित्र हुने गरी जोर बिजोर प्रणालीमा ट्याक्सी, मोटरसाइकल तथा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् । सार्वजनिक सवारी साधनलाई भने सञ्चालनको अनुमति दिइएको छैन ।

सरकारले ११ चैतदेखि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक थप गर्दै ३२ जेठसम्म लकडाउन अवधी थपेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।