काठमाडौं । लकडाउनकै बिचमा पनि बिहीबार प्रधानमन्त्री निवास बालुवाटार अगाडी सयाैं मान्छेहरु भेला भएर सरकारको विरोध गरेका छन् ।

त्यो भिडले सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राखेर प्रदर्शन गरिरहँदा प्रहरीले भने अश्रु ग्यास र पानीको फोहोरा हानेर हटाएको छ ।

उनीहरुले के माग राखे भन्दा पनि लकडाउनका बिचमा त्यत्रा मान्छेहरु कहाँबाट ओर्लिए भनेर चौतर्फी रुपमा चासो राखेको पाइएको छ ।

कुनै संगठित राजनीतिक दलले आह्वान नै नगरी सयाैं मान्छे सडकमा उत्रिएपछि उनीहरु को हुन् र कहाँबाट आए भनेर चासो राखेको पाइएको हो ।

कतिपयले लकडाउनले थुनिएका मान्छेहरु स्वतस्फूर्त रुपमा सडकमा उत्रिएको बताएका छन् । कतिपयले भने नेपाली कांग्रेसले हालै मात्र सरकारको नीति ठिक नभएको भन्दै आन्दोलन गर्नेसम्मको घोषणा गरेकाले कांग्रेसद्धारा परिचालित मान्छेहरु सडकमा आएर सरकारको विरोध गरेको बताएका छन् ।

सत्तारुढ दलका नेताहरुले नेपाली कांग्रेस, विवेकसिल लगायतका पार्टीहरुले सरकारलाई असफल पार्न भित्रभित्रैबाट आफ्ना कार्यकर्ताहरु सडकमा उतारेर सरकारको विरोध गरेको जनाएका छन् ।

कतिपय राजनीतिक विश्लेषकहरु भने आन्दोलनमा कतिपय राजनीति दलका कार्यकर्ताको प्रवेश भएपनि सरकारले ८० दिनसम्म लकडाउन गरेर थुन्दा मानिसहरु आक्रोशित भएको र परीक्षणको दायरा पनि नबढाएको तथा कोरोना पनि नियन्त्रण गर्न सरकार असफल भएपछि मानिसहरु स्वतस्फूर्त रुपमा सडकमा उत्रिएर सरकारको विरोध गरेको जनाउँछन् ।

सामाजिक सञ्जालमा आज यो विषय निक्कै चर्चामा छ । सञ्जालमा धेरैले सामाजिक दुरी कायम नगरी भिडभाडमा उत्रिएको भन्दै चिन्ता समेत गरेको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।