काठमाडौं । एक जना अधिवक्ताले अमेरिकाले आफ्नो परियोजना एमसीसी पास गराउन दुताबास मार्फत प्रायोजन गरी देशभर युवाहरु उतारेर आन्दोलन गराएको दाबी गरेका छन् ।
अधिवक्ता अमृत खरेलले एमसीसी कम्प्याक्ट संसदबाट पास गराउनका लागि विषयान्तर गर्ने उद्देश्यले तीन दिन यता अमेरिकी दूतावासको मुख्य प्रायोजनमा युवाहरूको असंगठित तर सुनियोजित आन्दोलन देशभर सुरु गरिएको दाबी गरेका हुन् ।
‘युएस एम्बेसी युथ काउन्सिलका नाममा अमेरिकी दूतावासले विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेटेर नेटवर्क सञ्चालन गर्दै आएको छ।’ उनले सामााजिक सञ्जालमार्फत भनेका छन्, ‘हो त्यसै मार्फत् सुरु गरिएको नेतृत्व विहीन आन्दोलनलाई अमेरिकी दूतावासले भित्री रूपमा साथ सहयोग र सञ्चालन गरिरहेको हुनाले देशभक्त युवाहरू दिग्भ्रमित हुन जरुरी छैन ।’
अधिवक्ता खरेलले यस अघि वर्ल्ड बैंकको प्रायोजनमा समृद्धि फाउन्डेसन नामक आइएनजिओमार्फत् मुख्य भूमिकामा सुरु भएको ‘गरी खान देऊ’ भन्ने अभियानमा पनि उच्च माविका विद्यार्थी संगठित गरिएको बताएका छन् ।’तिनै विद्यार्थीलाई लिएर पछि विवेकशील भन्ने अमेरिकी लबीमा दल गठन गरिएको थियो ।’ उनले भनेका छन् ।
उनले अहिले पनि शहरी विद्रोह जस्तो देखाउन खोजी लकडाउन आक्रान्त मानिसहरूलाई ध्यान विकर्षण गराई देशभर एकैसाथ सुरु गरिएको कुनै सिद्धान्त र नेतृत्व नभएको भन्दै यो आन्दोलनमा सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको समेत बताएका छन् । उनले यो आन्दोलनको अन्तर्यमा तनावकै बीचमा एमसिसि पास गराउन मार्ग प्रशस्त गर्ने रणनीति रहेको हुनाले सचेत रहन आग्रह समेत गरेका छन् ।








