काठमाडौं । डोटी जिल्लाका पहिलो कोरोना संक्रमित २५ वर्षीय पुरुषलाई परीक्षण बिना नै घर पठाइएको छ । शिखर नगरपालिका–३ पुरुष डोटीको पहिलो कोरोना संक्रमित व्यक्ति हुन् । जिल्ला अस्पताल डोटीको आइसोलेसनमा १४ दिन बसेपछि उनलाई परीक्षण बिना नै डिस्चार्ज गरिएको हो ।

सुरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि विगत १४ दिनदेखि कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्यले जानकारी दिएको छ ।

भारतबाट गत जेठ १२ गते उनको परिवार घर फर्केर शिखर नगरपालिका-३ आलीमा रहेको क्वारेन्टाइनमा बसेका थिए । जेठ १६ गते उनको बच्चालाई केही बिसन्चो भएपछि सोही दिन आमा, बुवा र बच्चालाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

थ्रोट स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सँगै आएका छोरा र श्रीमतीको नतिजा भने नेगेटिभ देखाएको थियो । छोरा र श्रीमतीमा दोस्रो पटक पनि परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकिएकाे छ । तर उनको भने दोस्रो पटक पीसीआर परीक्षण नगरिकन घर पठाइएको हो । आइसोलेसनमा बसेको १४ दिन पुरा भएकाले र कुनै लक्षण नदेखिएकोले आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका अनुसार डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।