काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुष र सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर रिपोर्ट नआउन्जेल बुधबार दिनभर उनको शव रुखमै झुण्डिएकै अवस्थामा थियो ।
उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टिनमा २५ जना छन् ।
यता, घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।
असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् ।







