काठमाडौँ — स्वास्थ्यमन्त्री भानभुक्त ढकालका विज्ञ सल्लाहकार खेम कार्कीको सक्रियतामा कोरोना रोकथामका औषधि र स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहलाई जिम्मा दिइएको पाइएको छ । स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सेवा विभागको अधिकार खिचेर औषधि र अन्य सामग्री खरिद गर्ने समितिमा अधिकारै नभएका आफ्नै सल्लाहकार कार्कीलाई जिम्मेवारी दिएपछि ओम्नीलाई खरिदको बाटो खुलेको थियो ।

कार्की संंयोजक रहेको समितिले चैत १२ मा मेडिकल सामग्री आपूर्ति गरेको अनुभवसमेत नभएको ओम्नीलाई सामान खरिद गर्न दिने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री ढकाल प्रमुख अतिथि र तत्कालीन स्वास्थ्य सचिव यादवप्रसाद कोइराला विशेष अतिथि रहेको बैठकले कार्कीलाई औषधि खरिद गर्ने समितिको संयोजकको जिम्मेवारी दिएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ को बैठकले अत्यावश्यक सामान सार्वजनिक खरिद नियमावली नियम १४५ मा भएको विशेष प्रावधानअनुसार छोटो विधि अपनाएर औषधि र अन्य सामान खरिद गर्ने नीतिगत निर्णय भएको थियो । यो निर्णय कार्यान्वयन गर्न मन्त्री विशेष अतिथि रहेर विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै चैत १२ गते दिउँसो १ बजे बैठक बसेको थियो ।

बैठकको माइन्युटमा राज्यमन्त्री नवराज रावत, मन्त्रालयका महाशाखा प्रमुखहरू डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, डा. विकास देवकोटा, सहसचिव रघुराम बिष्टको नामसमेत उल्लेख छ । तर, उनीहरू उपस्थित भएका थिएनन् । मन्त्रालयका कानुन अधिकृत पुष्कर नेपाल पनि सहभागी थिएनन् । विभागका महानिर्देशक श्रेष्ठ, निर्देशक भागेन्द्रराज डोटेललगायत केही कर्मचारीले मात्रै माइन्युटमा हस्ताक्षर गरेका छन् । यो बैठकमा कार्की पनि सहभागी थिए । माइन्युटमा सहभागीको १६ औं नम्बरमा कार्कीले हस्ताक्षर गरेका छन् । बैठकमा औषधि र अन्य सामग्री खरिद गर्न बोलाइएका आपूर्तिकर्ताहरू पनि उपस्थित थिए ।

आवश्यक सामग्री खरिद गर्न इच्छुकहरूलाई सबै सामग्री तत्काल आपूर्ति गर्न सक्ने प्रतिबद्धता जाहेर गर्न लगाउँदा सात जनाले मात्रै इच्छा देखाएको कान्तिपुरलाई उपलब्ध निर्णय पुस्तिकामा उल्लेख छ ।

बैठकले सातवटा आपूर्तिकर्तामध्ये एउटालाई छनोट गर्न सल्लाहकार कार्कीलाई जिम्मेवारी दिएको निर्णयमा उल्लेख छ । मन्त्रिपरिषद्को निर्णयबाट २०७६ चैत ९ मा मन्त्रीको सल्लाहकार नियुक्त भएका कार्की चैत ११ बाट मन्त्रालयमा हाजिर भएका थिए । त्यसको भोलिपल्ट उनलाई समिति संयोजकको जिम्मेवारी दिइएको हो ।

कार्की संयोजकत्वको समितिमा विभागका महानिर्देशक श्रेष्ठलाई चाहिँ सदस्यमा राखिएको थियो । अन्य सदस्यमा पनि मन्त्रालयका महाशाखा प्रमुख डा. रोशन पोखरेल, विभागका निर्देशक भोगेन्द्रराज पोखरेल, चूडामणि भण्डारी सदस्य र उपसचिव लीलाराज पौडेल सदस्यसचिव थिए । समितिलाई आवश्यक सामानको परिमाण, मूल्य र गुणस्तरका विषयमा वार्ता गरी उचित प्रस्ताव स्वीकृतिका लागि सिफारिस गर्न अधिकार दिइएको छ ।

चैत १२ गते दिउँसो १ बजेको बैठकमा सामान आपूर्ति गर्न इच्छा देखाउनेमा सेनोङ हर्बल मेडिसिन प्रोडक्सन, सिसस मेडिटेक, न्यु इसा इन्टरप्राइजेज, ओम्नी (ओबीसीआई), अम्बला ग्रुुप हङकङ, अनिता बिजनेस हाउस, मेडी सोलुसन इन्टरनेसनल थिए । बैठकले यी सातवटा आपूर्तिकर्तासँग मात्र दोस्रो चरणको छलफल तत्काल गर्ने निर्णय गरेको थियो । सातवटा आपूर्तिकर्तासँग दोस्रो चरणको छलफल त्यही दिन बेलुका ७ बजे तय गरिएको थियो । समितिलाई सामानको दररेटसहितको प्रक्रिया पूरा गरेर पेस गर्न जिम्मेवारी दिएको थियो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ को विशेष परिस्थितिमा खरिद गर्ने प्रावधानबमोजिम दिउँसोको बैठकमा सामान खरिद गर्न सात कम्पनीका प्रतिनिधिले इच्छा देखाए पनि बेलुकी ७ बजेको बैठकमा भने अनिता बिजनेस हाउस पुतलीसडक र ओम्नीको ओबीसीआई कृष्णगल्ली ललितपुरका प्रतिनिधि मात्रै सहभागी भए ।

बैठकको निर्णय पुस्तिकाअनुसार दुई कम्पनीले पेस गरेको सामानको मूल्यमा ओम्नीले शून्य दशमलब ५ प्रतिशत घटेर राज्यलाई सहयोग गर्न तयार भएको र नियामक निकायले प्रमाणित गरेको प्रमाणसहितको सामग्री आपूर्ति गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ । विभाग स्रोतले उपलब्ध गराएको निर्णय पुस्तिकामा भनिएको छ, ‘सो दररेटमा शून्य दशमलब ५ प्रतिशतले घटेर हाल विशेष परिस्थितिमा सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । गुणस्तरको विषयमा हाल कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका लागि योग्य भनी उत्पादक राष्ट्रको नियामक निकायले प्रमाणित गरेको प्रमाणसहितको सामग्री आपूर्ति गर्ने प्रतिबद्धता गर्नुभयो ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।