काठमाडौँ — लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३० देखि जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन भएको थियो । सरकारी कार्यालय पूर्ण रूपमा सुचारु भएको असार १ मा ६ हजार २ सय ११ जना संक्रमित थिए ।
असार १० मा संक्रमितको संख्या १० हजार नाघ्यो । शनिबारसम्म १५ हजार ४ सय ९१ पुगेको छ । यो बीचमा ९ हजार २ सय ८० जना संक्रमित थपिएका छन् । दुई जना मात्रै संक्रमित हुँदा मुलुकमा लकडाउन घोषणा गर्ने संयन्त्रले अहिले दैनिक ५ सयभन्दा बढी हुँदा पनि प्रभावकारी कदम चाल्न योजना बनाउन सकेको छैन ।

संक्रमितको संख्या दिनहुँ ३ अंकमा बढिरहँदा सरकार र सत्तारूढ दल भने आन्तरिक शक्ति संघर्षमा व्यस्त छन् । अप्ठेरो पर्दा जनतालाई सेवा गर्छौं भन्दै चुनाव जितेर आएका नेताहरू मुलुकमा आगोसरी फैलिरहेको कोरोना नियन्त्रणमा संवेदनशील देखिएका छैनन् । सरकार र सत्तारूढ दलमा नागरिकप्रतिको जिम्मेवारी र संवेदनशीलता कति छ भन्ने पछिल्लो दुई सातायताका घटनाक्रमले छर्लङ्ग पार्छन् ।

नेपालमा शनिबार मात्रै २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण देखिएको थियो । अहिले कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ । प्रदेशगत विवरणलाई हेर्ने हो भने प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, वाग्मतीमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३ र प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना संक्रमित छन् । यस्तै, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा एक/एक जना छन् भने सबैभन्दा बढी रौतहटमा १ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा. दिनेश न्यौपानेले कोरोनाको संक्रमण बढिरहेका बेला सरकार र सत्तारूढ पार्टीका शीर्ष नेताहरू राजनीतिक जोडघटाउमा लाग्नु दुर्भाग्य भएको बताए । ‘कोरोनाबाट ध्यान हट्ने कुनै पनि कार्य अहिलेलाई बर्जित गर्नुपर्छ,’ उनले भने, ‘हामीले देशलाई सुरक्षित बनाएर ठूलो क्षतिबाट जोगाउन धेरै मौका गुमाइसकेका छौं । अहिले यो अवस्थामा फेरि पनि राजनीति नै ठूलो भनेर त्यता बहस केन्द्रित गर्ने हो भने ठूलै दुर्घटनाले हाम्रो ढोका ढक्ढक्याइरहेको छ भनेर बुझे हुन्छ ।’ कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।