नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माडीद्वारा चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताएका छन् ।

उनले भने “पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन् । त्यसमा कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो ।” अध्यक्ष दाहालले अब पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताए । “कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ ।” उनले भने, “प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ ।”

कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिविधि नगर्न आग्रह गरे । कार्यकताहरु एकताको पक्षमा दृढ भएर उभिने समय आएको उनको भनाइ थियो । सो अवसरमा उनले कोरोनासँगसँगै बाँच्न र हिँड्न सिक्नुपर्ने बताए । यद्यपि सचेत भने हुनुपर्ने उनको भनाइ थियो । आफू निर्वाचित भएको माडी क्षेत्रमा अरूले गरेजस्तो सामान्य विकास निर्माणले नहुने भन्दै दीर्घकालीन महत्व राख्ने महत्वपूर्ण आयोजनाहरु अघि बढेको उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।