परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन् ।

गुल्मीमा कोभिड–१९ सङ्क्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि आज तम्घासमा रेसुङ्गा नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाभित्र विद्रोह हुन्छ र पार्टी दुर्घटनामा पर्छ भनेर कसैले कल्पना गरेको छ भने त्यो गलत सावित हुने बताए ।

नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरामा जोडिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको बताए ।

नेकपाका नेतासमेत रहनुभएका मन्त्री ज्ञवालीले अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाहरुको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने एवं जनतालाई कसरी सुखी र समृद्ध बनाउने भन्ने कुरा नै मुख्य चुनौती रहेको धारणा व्यक्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।