कात्तिक २३ । उम्मेदवारहरुले मतदातालाई विभिन्न किसिमले आफ्नो पक्षमा ल्याउनका लागि कार्यकर्तालाई परिचालन गर्न तेल बाढ्न सुरु गरेका छन् ।
पूर्वी क्षेत्रका प्रभावशाली मानिएका राजनीतिक दलका उम्मेदवारले संविधानसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न कार्यकर्तालाई धमाधम पेट्रोल र डिजेलका कुपन बाँडिरहेको अन्नपूर्ण पोस्टले खबर छापेको छ ।
झापा, मोरङ र सुनसरीमा प्रतिस्पर्धा गरिरहेका दलहरुका केन्द्रीय नेताले कुपनमार्फत पेट्रोल र डिजेल वितरण गरिरहेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं मोरङ ७ का उम्मेदवार शेखर कोइरालाले विराटनगर एबी पेट्रोल पम्पबाट कार्यकर्तालाई दिनहुँ पेट्रोल वितरण गरिरहेका छन् । उनले एकजनालाई पाँचदेखि १० लिटरसम्म बाँड्ने गरेका छन् ।
उनी मात्र होइन अहिले अधिकांश केन्द्रीय नेता तथा अन्य उम्मेदवारले आफ्ना सयौं कार्यकर्ताका मोटरसाइकल र गाडीमा तेल वितरण गरिरहेका छन् । एमालेका प्रभावशाली नेता तथा झापा ७ का उम्मेदवार केपी शर्मा ओलीले दमकस्थित माता पाथीभरा पेट्रोल पम्पबाट खैरो रङको कुपनमार्फत तेल वितरण गरिरहेका छन् ।
‘यसरी, कुपन राजनीति’ ले चुनावको स्वास्थ प्रतिस्पर्धालाई प्रभावित गर्ने आशंका मतदाताले गरेका छन् ।