काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले गरेका काम नदेख्ने समाजमा मोतियाबिन्दु लागेको जनाएका छन् । कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा उनले आपत्ति जनाए ।

वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा सोमबार मन्त्री ढकालले भने, ‘हामीले निर्वाह गरेको भूमिका विदेशीले देखेका छन् । देश र विदेशमा बसेका नेपालीले देखिसक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको छ ।’

नेपाल संस्कार र संस्कृतिको धनी भए पनि समाजले भने सकारात्मक पक्ष नदेख्ने गरेको मन्त्री ढकालको भनाई थियो । सरकार र चिकित्सकहरूले कोरोना संक्रमितलाई खोजीखोजी उपचार गरिरहे पनि त्यसलाई नदेखेको उनको भनाइ थियो । ‘यो लडाइमा हामीले टर्च बालेर, यो ठाउँमा यो गाउँमा कोही छ कि पोजेटिभ भनेर खोजेर पत्ता लाग्ने बित्तिकै अस्पतालमा ल्याएर उपचारको व्यवस्था गरेका छौं,’ उनले भने ।

विश्वका शक्ति सम्पन्न राष्ट्रहरूको भन्दा पनि राम्रोसँग कोरोना भाइरसविरुद्ध नेपाल सरकारले लडेको मन्त्री ढकालको भनाइ थियो । ‘कोभिड-१९ बाट मृत्यु हुनेको प्रतिशत विश्वमा कति छ रु हामीले २ प्रतिशतभन्दा माथि चढ्न दिएका छैनौं । यो एकदमै सकारात्मक पक्ष हो,’ मन्त्री ढकालको भनाइ थियो, ‘हामीले राज्यको तर्फबाट पहल गरेका छौं । ७० प्रतिशत बढी संक्रमित घर फर्किएका छन् । हामीले देख्न सकेका छैनौं ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।