काठमाडौं । काठमाडौं महानगरपालिका–२७ को व्यापारिक क्षेत्र महाबौद्धको दुई जना व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै पसल क्षेत्र सिल गरिएको छ । कोरोना पुष्टिको खबरसँगै त्यस क्षेत्रमा पसलेहरुले आफैं पसल बन्द गरेका छन् ।
दुई व्यवसायीमा संक्रमण देखिएको भन्दै सोमबार वडा कार्यालयले सूचना जारी गरी उनीसँग सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।
संक्रमितहरू भारत घर भई हाल गोसिफलमा डेरा गरी बस्ने र गणेश मन्दिर नजिकै पसल गरी बस्ने रहेको खुलेको छ ।
वडाले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा सम्मको व्यवसायीको पिसिआर रिपोर्ट नआएसम्म सुरक्षा उपाय अपनाउन समेत अनुरोध गरेको छ।
संक्रमितसँग सम्पर्कमा आएकाहरूको स्वाब मंगलबार संकलन गरिने वडा कार्यालयले जनाएको छ । संक्रमितलाई अहिले टेकुस्थित आइसोलेशनमा राखिएको छ ।