कात्तिक २१ । प्रहरी प्रमुख को भन्ने विषयमा नेपाल प्रहरी भित्रको विवाद सर्वोच्चमा पुगेको छ ।

सरकारले उपेन्द्रकान्त अर्याललाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) मा नियुक्त गरेसंगै प्रहरी संगठनभित्र विवाद चुलिएर गएको हो । प्रहरीमा पहिलो नम्बरमा बढुवा भएका एआईजीले नै प्रहरी संगठनको बागडोर सम्हाल्ने परम्परा रहेपनि आफूभन्दा कनिष्ठलाई एआईजीमा बढुवा गरेपछि डिआईजी पार्वती थापा तथा उनका समकक्षी रुष्ट बनेका छन् ।

अर्याललाई एआईजीमा बढुवा गरिएको विरुद्धमा डिआईजी थापाले बिहीबार सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी छिन् । सरकारले बरिष्ठता मिचेर नियम विपरित कनिष्ठलाई बढुवा गरेकाले रिट दायर गरेको पार्वती थापाको भनाई छ ।

थापाद्धारा दायर रिटमा अर्याल आफूभन्दा कनिष्ट भएको र उनको बढुवा पहुंच र प्रभावका आधार भएको दाबी गरिएको छ । रिटमा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।

नेपाल प्रहरीका प्रमुख कुवेरसिंह रानाको यही कात्तिक २९ गतेदेखि अवकाश हुने भएसगै अर्याललाई एआईजीमा बढुवा गरिएको हो । रानापछि प्रहरी को बन्ने भन्ने विषयमा प्रहरी संगठनभित्र लामै समयदेखि विवाद चल्दै आएको थियो । प्रहरी प्रमुख रानासंगै अरु थप पांच जना एआईजीहरुले पनि अवकाश पाउने भएका कारण यसपटक डिआईजीहरबाटै प्रहरी प्रमुख बनाउने स्थिति उत्पन्न भएको हो । एआईजीहरु नवराज ढकाल, भीष्म प्रसाइं, दिनकर शमशेर, गंगा पाण्डे र पुस्कल रेग्मीले राना भन्दा दुई दिन अघि अवकाश पाउंदैन् ।

धेरैले बरिष्ठ नै प्रहरी प्रमुख बन्ने प्रथा अनुसार नेपाल प्रहरीमा पहिलो पटक महिला प्रमुख हुने भयो भनेर समेत चर्चा गर्दै आएका थिए । तर सरकारले कात्तिक २४ गते एकाएक बरिष्ठता थापा भएपनि अर्याललाई बढुवा गरेको थियो ।

उक्त बढुवाको प्रहरी संगठन भित्रै विवाद रहेको छ भने महिलाको हकहितका विषयमा वकालत गर्दै आएका संघ संस्थाले समेत चर्को विरोध गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।