काठमाडौं । सरकारले कोरोना संक्रमित वृद्धि भएपछि काठमाडौं उपत्यकामा पुनः जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमण फैलन नदिन फेरि जोर विजोर प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्।

कोरोना संक्रमण फैलिन नदिन सरकार नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको मन्त्री ढकालले बताए। बाहिरी जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने उनले जानकारी दिए।

अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत उनले रहन आग्रह गरे।

आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टिनमा राख्ने व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो, गाडी चलाउने कुरामा पनि भरममग्दुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एकहदसम्म आवस्यकतालाई पनि पूर्ति गर्न सक्छ। अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्छ।’

उनले काठमाडौंमा कोरोना संक्रमण फैलियो भने डढेलो जस्तो हुने र विस्फोटक रुप लिने बताए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।