साउन दोस्रो साता प्राय सबै अनलाइन मिडियामा एउटा समाचार छायो । त्यो समाचार थियो– कपनमा बेवारिसे बच्चा भेटिएको ।
कार्टुनभित्र जतनका साथ माया गरेर फालिएको देखिने बच्चाबारे अहिले भने नयाँ कुरा खुल्न थालेको छ ।
रहस्य खुल्दै जाँदा उक्त बच्चा बेवारिसे नभएको समेत बुझिन आएको छ । चार पाँच दिनको देखिने उक्त बच्चालाई नजिकै रहेको बालगृहमा राखिएको थियो । तर बालगृहकी सञ्चालिकाले वेवारिसे भेटिएको भनिएकी बालिकाकी आमाले आफ्नो बच्चा फिर्ता लगेको बुझिन आएको छ ।
टिभी अन्नपूर्णका अनुसार विदेशबाट फर्किएकी एक महिलाले जन्माएको उक्त शिशु बालगृहकी सञ्चालिका पुष्पा अधिकारीकै योजनामा चौरमा फ्याकिएको र योजना खुल्ने त्रासले अहिले बालिकालाई उनकी आमाले फिर्ता लगेकी छन् ।
विदेशमा अवैध सम्बन्धबाट गर्भवति बनेकी ती महिलाले समाजले तिरस्कार गर्ने डरले उक्त बच्चालाई बालगृहकी संचालिका अधिकारीलाई जिम्मा लगाएकी थिइन ।
तर बालगृहकी सञ्चालिकाले कानुनी समस्या पर्ने डरले उक्त बच्चा झाडीमा भेटिएको भन्दै मिडियाबाजी गरेको बताइएको छ। प्रहरीले बालिकाकी आमा र बालगृहकी सञ्चालिकाको सम्बन्धमा अनुसन्धान थालेको बताइएको छ ।