काठमाडौं । विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि सरकारले आजदेखि सवारी साधनमा फेरि जोर बिजोर प्रणाली लागू गरेको छ ।

सरकारले काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लामा सवारी साधन जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले सवारी साधनमा जोर बिजोर लागू गर्ने विषयमा छलफल गरेकोमा गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरेर यसको जानकारी गराएको छ ।

सरकारले २ सय बढी संक्रमित भएको जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने यस्तो निर्णय भएको जानकारी दिए ।

यस्तै, होटल, रेष्टुरेष्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गरिएको पनि गृह मन्त्रालयले जनाएको छ । सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तराष्ट्रिय सीमा नाका हुने आवतजावतलाई कडाईका साथ निषेध गर्ने निर्णय समेत गरेको छ ।
गृह मन्त्रालयले संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र तथा स्थानलाई जिल्ला कोभिड– संकट व्यववस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र कोरोनाको थप परिक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

सरकारले जनस्वास्थ्य मापदण्ड पालना नगर्ने तथा मास्क नलगाउने व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने निर्णय समेत गरेको छ ।

सरकारले यसअघि ११ चैतदेखि करिब चार महिना लकडाउन घोषणा गरेको थियो । लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत २८ जेठ मा बसेकोे बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सरकारले पुनः असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । संक्रमितको संख्या पुनः बढ्न थालेपछि सरकारले जोर बिजोर प्रणाली लागू गरेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।