कात्तिक । पूर्व सभामुख तथा एमाले नेता सुभाष नेम्वाङले संविधानसभाबाट संविधान नबनुमा तत्कालीन एकीकृत नेकपा (माओवादी) र तत्कालीन सरकार तथा त्यसमा सहभागी राजनीतिक दलको मुख्य जिम्मेवारी भएको आरोप लगाएका छन्।
नेम्वाङले शुक्रबार जितपुरमा आयोजित चुनावीसभामा भने ‘लामो समयसम्म संविधानसभाबाट संविधान नबन्नामा एमाओवादी र सरकार नै जिम्मेवार हुन्, एमालेको कारण संविधानसभा भङ्ग भएको हैन, मैले बारम्वार प्रयास गरे पनि संविधान बन्न सकेन,’
उनले पहिलो पार्टी भएको खण्डमा एक वर्षभित्रमै संविधान बनाइसक्ने ठोकुवा पनि गरे । नेम्वाङले विगतमा भएका उपलब्धि संस्थागत गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ उन्मुख गराउन एमाले तयार रहेको त्यसका लागि आफ्नो दलको जित सुनिश्चित हुनुपर्ने बताए।
चुनावमा भाग लिन्नौँ भने मुख्य राजनीतिक दललाई पनि सरकार र दलले निरन्तर छलफल र वार्ताको माध्यमबाट सहमतिमा ल्याउन सके त्यसपछि मुलुकले चाहेजस्तो संविधान लेख्न सकिने तथा त्यो नेपाली जनताको संविधान हुने उनको भनाइ छ। ‘जनताले अहिले विकास र संविधान दुवै चाहेका छन्’ भन्दै उनले ‘संविधान निर्माण गरेर मात्र विकासमा मुलुकलाई गतिशील बनाउने एमालेको कार्यसूची रहेको’ बताए। नेम्वाङ विगतदेखि नै क्षेत्र नं २ बाट एमालेका उम्मेदवार बन्दै आएका छन्। रासस