कात्तिक १५ । एकीकृत नेकपा माओवादीका सबै शिर्ष नेताहरुको हारको सम्भावनाका चर्चाहरु बढेर जान थालेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल, क्रमश अन्य पूर्व पदाधिकारीहरुमा उपाध्यक्ष डा. बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव पोष्ट बहादुर बोगटी, अर्का शिर्ष नेता कृष्ण बहादुर महराका साथै लिलामणी पोखरेल, एमाले पोलिटब्यूरो छाडेर आएका रामचन्द्र झा लगायत उच्चस्तरका दर्जर्नौ नेता हार्ने देखिएको हो ।
मुख्य नेताहरु नै हार्नुमा आन्तरिक र बाह्य दुवै कारण रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ । अघिल्लो निर्वाचनमा ठूला ठूला सपना बाडेको तर केही पनि पूरा नगरेको, नेतृत्व सत्तालिप्सा र सुविधाभोगी बनेर जनताको इच्छा आकांक्ष विपरित गएको, आशालाग्दा उम्मेदवारको सट्टा परिवारवाद तथा नातावादमा पार्टी फसेको, पाहुना उम्मेदवार धेरै उठाएको, अघिल्लो संविधानसभा निर्वाचनमा जस्तो हतियार तथा डर धम्कीको प्रयोग नहुने भएको तथा बाह्य कारणमा एमाले र कांग्रेसले संगठनमा केही सुदृढ गरेको तथा एमाओवादीबाट अलग्गिएर गएको नेकपा माओवादीसंग दुश्मनी साजेको र उसको निशाना एमाओवादी नै भएको लगायतका कारण एमाओवादीका शिर्ष नेताका साथै अन्य थुप्रै उम्मेदवारहरु विभिन्न ठाउँमा हार बेहोर्नेमा पुगेका हुन् ।
स्रोतका अनुसार एमाओवादी अध्यक्ष प्रचण्ड काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार बनेकोमा उनले काठमाडौं १० बाट हार्ने सम्भावना बढेको छ । नेवार समुदायको बसोबास रहेको उक्त ठाउँमा यसअघि किर्तिपुरस्थित पागाबासी र एमाओवादी कार्यकर्ताबीच लफडा समेत भएको थियो । विवादपछि पागाबासी प्रचण्डको विरुद्धमा रहेका छन् । उक्त क्षेत्रमा अन्य प्रतिस्पर्धी गतिलो नभए पनि प्रचण्डले २ हजार भोटले हार्ने गुप्तचर सुरक्षा निकायहरुले निकालेका छन् । यो पटक माओवादी पार्टी फुटेको तथा उक्त क्षेत्रमा एमाओवादी भन्दा माओवादीकै बढी बर्चस्व भएका कारण पनि प्रचण्ड हार्ने सम्भवना झन् बढेर गएको हो । तरुण साप्ताहिकले प्रचण्ड उक्त क्ष्नेमा दुई हजार भन्दा बढी मतले हार्ने सूचना सुरक्षा निकायले मन्त्रीपरिषदका अध्यक्ष तथा गृहमन्त्रीकहाँ पुर्याईसकेको खबर समेत छापेको छ । उक्त क्षेत्रमा प्रचण्डलाई नै गालामा झाप्पु हानेर चर्चामा आएका पदम कुँवर पनि प्रतिस्पर्धामा छन् । पदमले नजिते पनि प्रचण्डको ठूलो संख्यामा भोट काट्ने निश्चित छ । पदमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेकपा माओवादीका कार्यकर्ताले सहयोग पुर्याउँदै आएका छन् ।
यता, रुपन्देही र गोरखाबाट उम्मेदवारी दिएका बाबुराम भट्टराईले भने गोरखाबाट सहजै जितेपनि रुपन्देहीमा उनी हार्नेमा पुगेका छन् । उनले रुपन्देहीमा माहौल बनाउन राष्ट्रिय स्तरका सेलिब्रेटी, कलाकर्मीका साथ चुनावी अभियान बनाएपनि उनको पक्षमा माहौल बन्न सकेको छैन । रुपेन्दही ४ मा उम्मेदवारी दिएको उनको ठाउँमा एमाले सचिव विष्णुप्रसाद पौडेल र कांग्रेसका सूर्यप्रसाद प्रधान मुख्य प्रतिस्पर्धी छन् ।
अर्का पूर्व उपाध्यक्ष नारायणकाजी उठेको क्षेत्र मकवानपुर २ मा पनि कांग्रेस र एमाले मध्ये एकले जित्ने चर्चा बढी छ । त्यहाँ कांग्रेसले जयराम लामिछानेलाई उठाएको छ भने एमालेले सुभास चन्द्र शाह ठकुरीलाई उठाएको छ । दुवै जना स्थानीय नेता भएकाले श्रेष्ठ भन्दा पनि कांग्रेस एमालेको उक्त क्षेत्रमा वर्चस्व रहेको स्थानीयहरुको भनाई छ । श्रेष्ठलाई पार्टीबाटै अन्तरघात हुने समेत स्रोत हेलोखबर डटकमसँग दावा गर्दछ ।
नुवाकोट क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका एमाओवादी पोष्ट बहादुर बोगटी पनि हार्ने चर्चा चुलिएको छ । त्यहाँ कांग्रेसका बहादुर सिंह लामा र एमालेका नारायण प्रसाद खतिवडा छन् । वैद्य समूहको वर्चस्व रहेको स्थानमा वैद्यको समर्थन भन्दा अवरोध बढेपछि बोगटी हार्नेमा रहेको स्रोत बताउँछ । तामांग समुदायको ठूलो जनघनत्व रहेको उक्त स्थानमा कांग्रेसले तामांग समुदायकै व्यक्तिलाई समेत उठाएको छ । स्वतन्त्रसहित १७ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा बोगटी हार्ने नै बढी चर्चा छ ।
जनयुद्धको उद्गमस्थल मानिने रुकुम रोल्पामा भने एमाओवादीका उम्मेदवारहरुले अहिलेसम्म राम्ररी चुनावी प्रचार नै गर्न पाएका छैनन् । अघिल्लो निर्वाचनमा रोल्पाबाट जितेका अध्यक्ष प्रचण्ड यो पटक त्यहाँका जनताले साथ नदिने देखेपछि सिरहातिर हानिए । तर अर्का शिर्ष नेता कृष्ण बहादुर महरालाई १ मा र ओनसरी घर्तीलाई २ मा उठाएपनि उनीहरु पटक पटक लखेटिदैं आएका छन् ।
ती जिल्लाहरुमा माओवादीले उम्मेदवार निषेधित जिल्ला समेत घोषणा गरिसकेका छन् । त कांग्रेस एमालेले भने एमाओवादी भन्दा बढी प्रचार गर्न पाएका छन् । वैद्य माओवादी वर्चस्व रहेको ती क्षेत्रमा एमाओवादी नेता पसेमा ढुंगामुढा गर्ने काम समेत हुन थालेको छ । वैद्य माओवादीकै कारण कृष्ण बहादुर महराले हार्ने स्रोतको भनाई छ ।
काठमाडौं २ मा उम्मेदवार बनेका लिलामणी पोखरेल पनि एमाले नेता माधवकुमार नेपालसँग पराजित हुने सम्भावना धेरै रहेको विश्लेषकहरुको ठम्याई छ । अघिल्लो निर्वाचनमा नेपालले सो क्षेत्रमा हारेपनि चुनिएका निर्वाचित एमाओवादीका नेताले आशालाग्दो काम नगर्दा उनीहरु नेपालप्रति नै बढी आकर्षित भएका छन् भने नेपालले पनि हारलाई जितमा बदल्न सक्दो प्रयास गरिरहेको एमालेको भनाई छ ।
उता, एमाले पोलिटब्यूरो पद छाडेर एमाओवादी छिरेका रामचन्द्र झा पनि चुनावमा हार्नेमै देखिन्छन् । धनुषा १ बाट उम्मेदवार बनेका उनी आफ्नै बागी उम्मेदवार श्रवण यादव भन्दा धेरै कमजोर छन् । उक्त क्षेत्रमा जित्ने सम्भावना पहिलो श्रवण यादव र उनले नजितेमा एमालेका रत्नेश्वर गोइत यादवले जित्ने अड्कल धेरैले गरेका छन् ।
झापाबाट उम्मेदवार बनेका एमाओवादीका गोपाल किराती पनि एमाले नेता केपी शर्मा ओलीसँग टक्करमा छन् । उनीहरु कसले बाजी पार्ने भन्नेमा यसै भन्न नसकिने अवस्था छैन ।
केही राजनीतिक विश्लेषकहरुको दाबी अनुसार यही तरिकाले हुने निर्वाचनमा एमाओवादी अप्रत्यासित रुपमा ठूलो दुर्घटनामा पर्नेछ । एक विश्लेषक त दाबी गरेर भन्छन्, ‘सो हारको दुर्घटनाबाट बच्न कि त एमाओवादीले निर्वाचन नै हुन दिने छैन, भईगएमा पनि कुनै बहानामा त्यसलाई वैधानिकता नदिनेमा एमाओवादी लाग्नेछ ।’





Srisa netale hrnu hunna tara jatiya rajaniti ra ekal jatiya pahichan ka paharedar ko name nisananai metinu parchha