नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ। निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।
ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।
वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।