काठमाडौँ — ‘म आज त्यतै बस्न आउँदै छु है,’ शनिबार दिउँसो ३ बजेतिर कृष्णबहादुर बोहराले टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरमा भाडामा बस्दै आएकी कल्पना मुडभरी (पौडेल) लाई फोन गरे । त्यसपछि गोंगबुकै नरसिंहधाम गेस्ट हाउसका सञ्चालकलाई ‘म केही दिन आउदिनँ’ भन्दै निस्किए ।

उनी मंसिरदेखि सो गेस्टहाउसको कोठा नम्बर ४०१ मा बस्थे । नजिकै मदिरा सेवन गरेर उनी बा७२प ५६४४ नम्बरको स्कुटरमा पौडेलको कोठामा पुगे । त्यसअघि नै पौडेलले ‘दही पनि ल्याउनु है’ भनेकी रहिछन् । दही र ७ सय ५० एमएलको रुस्लान भोड्का पनि उनले साथमै लिएर गए ।

झोला पौडेलको कोठामा बिसाएर बोहरा केहीबेर बिस्तरामा पल्टिए । उनी आउनुअघि नै मासु पाकिसकेको थियो । पौडेलका छोराछोरीले मासुचिउरा खाए । उनीहरुले भोड्का पनि पिए । मदिराको नसामा बोहरा लठ्ठिँदै गए । नसा चढ्दै गएपछि बोहरा छोरीमाथि जाइलाग्न थाले । ‘ममी’ भनेर चिच्याए पनि उनले समाउन छोडेनन् ।

त्यहाँबाट छोरी कोठातिर गइन् । दुव्र्यवहार सहन नसकेपछि पौडेलले आफूले सेवन गर्ने ५ चक्की औषधि दहीमा घोलेर बोहरालाई खान दिइन् । प्रहरीलाई दिएको बयानमा उनले डिप्रेसनको बिरामी भएकाले दैनिक निद्रा लाग्ने औषधि खाने गरेको बताएकी छन् । केहीबेरमै बोहरा बसेकै ठाउँमा बेहोस भएर शौचालयतर्फ पल्टिए ।

त्यसपछि पौडेलमा क्रूर अपराधको योजना बन्यो । किला ठोक्ने हथौडा र खुकुरी (दाउ) ल्याइन् । लठ्ठिएर सुतेका बोहराको अण्डकोषमा पटक–पटक प्रहार गरिन् । हथौडाले हानेपछि उनले एकपटक ‘ऐया’ भनेर मसिनो आवाजमा कराएको पौडेलले बयानमा भनेकी छन् । निद्रा लाग्ने औषधि र मदिरा सेवनका कारण उनी प्रतिकार गर्ने अवस्थामा थिएनन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार बोहराको अण्डकोष फुटेर छालामै मिसिने अवस्थामा पुग्यो । चिकित्सकको पोस्टमार्टम रिपोर्टमा यसलाई ‘ब्लन्ट फोर्स स्क्रोटम’ भनिएको छ ।
शव व्यवस्थापनमा छोरीको सहयोग
घटना शनिबार राति ११ बजेतिर भएको प्रहरीले अनुमान गरेको छ । हत्यापछि शौचालयको ढोकाको डिलमा लगेर पौडेलले घाँटी काटिन् । घुँडामुनि दुवै खुट्टा छिनाइन् । त्यसलाई प्लास्टिकमा हालेर नजिकै लगेर मिल्काएर आइन् । तर, टाउको र खुट्टाबाहेक बाँकी रहेको शरीर सुटकेसमा हालेर लैजान खोज्दा एक्लै सकिनन् । घटनाबारे सबै कुरा जानकारी गराएपछि छोरीकै सहयोगमा व्यवस्थापन गरिन् । बाँकी शरीर कालो सुटकेसमा हालिन् । नाम्लोले बाँधेर छोरीसँगै फेरि निस्किइन् । त्यसबेला बिहानको ३ बजिसकेको अनुसन्धानबाट खुलेको छ । कोठामा फर्किएर उनले दशीप्रमाण लुकाइसकेकी थिइन् । घटनापछि चितवनस्थित माइत भाग्ने योजना बनाइन् । राति नै चितवन टाँडीनजिकै माधवपुरमा रहेकी आमालाई फोन गरेर आफू आउन लागेको जानकारी गराइन् । चितवनमै भिनाजु नाता लगाउँदै एक व्यक्तिलाई आफूलाई लिन काठमाडौं आउन आग्रह गरिन् । एम्बुलेन्स चालक ती व्यक्ति आइतबार दिउँसो ४ बजे काठमाडौं आइपुगे । ६ हजार भाडा लिएर उनले पौडेल र उनका छोराछारीलाई माधवपुर पुर्‍याए ।

चितवन हिँड्नुअघि प्रहरीले पौडेल बसेको घरवरिपरि घेरा हालिसकेको थियो । अग्लो घर भएकाले घटना त्यहीँ भएको भन्ने शंका प्रहरीले गरेन । तल कुकुर र सुरक्षाकर्मी घुमिरहँदा माथि झ्यालमा पर्दा लगाएर पौडेल सानो प्वालबाट बाहिरको गतिविधि नियालिरहेकी थिइन् । ४ बजेपछि एम्बुलेन्समा छोराछोरीसहित उनी चितवन लागिन् । उनी निस्किइसकेपछि मात्रै प्रहरीले घर घेरा हालेको थियो । नजिकै बेवारिस स्कुटर देखेपछि खोज्दै जाँदा प्रहरी उनी बसेको कोठासम्म पुग्यो । तर कोठामा ताल्चा लागेपछि प्रहरीमा शंका उब्जियो । कोठाभित्र स्कुटरको चाबी फेला परेपछि घटनामा पौडेल नै संलग्न भएको निष्कर्षनजिक प्रहरी पुगेको थियो । कान्तिपुरमा खबर छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।