काठमाडौं । ‘हामी सँगसँगै’ भनेर लोगोमै स्लोगन राखेको सनराइज बैंकभित्र जहिल्यै लफडा हुँदै आएको छ । त्यस्ता लफडाले भविष्यमा बैंक नै धरासयी हुने र सर्वसाधरणको निक्षेप नै डुब्ला कि भन्ने खतरा समेत उत्पन्न गराउने गरेको छ ।
सनराइज बैंक भित्रको ताजा विवादको समाधान हालै थामथुम पारिएको छ । तर, पुनः कहिले विवाद चर्किएर जाने हो भन्ने ठेगान छैन ।
बैंक भित्र जहिल्यै हुने विवादले सर्वसाधरणले दुःखले कमाएर जम्मा गर्ने बचत नै डुब्ने खतरा भने बढेर गएको छ ।
एक वर्ष अघि नियुक्त भएका सिईओ जनक शर्मा पौडेललाई बैंक सञ्चालकले हटाउन ३ दिने स्पष्टिकरण समेत काटेको थियो । पौडेलले राष्ट्र बैंक मात्र नभएर अर्थमन्त्रीसम्मको पहुँच लगाएर एक पटकलाई जागिर जोगाएको चर्चा छ । उनले पद जोगाउन शक्तिको दुरुपयोग गरेपछि सञ्चालक समिति भित्रको विवाद झन् भित्रभित्रै भुसको आगो जस्तो सल्किन थालेको बैंक भित्र चर्चा हुने गरेको छ ।
सञ्चालक समितिले नै हटाउन ३ दिने स्पष्टिकरण काटेपछि नैतिकताका आधारमा प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिनुको सट्टा स्रोत र शक्तिको भरमा पौडेलले जागिर जोगाए पनि यसरी जागिर जोगाएको भर र सञ्चालक समितिभित्रको बढ्दो विवादले बैंकको भविष्य कहाँ पुग्ने हो भनेर चिन्ता समेत हुन थालेको छ ।
यसअघि, राष्ट्र बैंकले बोलाएको बैठकमा सञ्चालक शैलेन्द्र गुरागाईले प्रमुख कार्यकारी अधिकृतको विषयमा फरक मत राख्दै राजीनामा दिनुपर्ने अडान कामय नै राखेको बुझिएको छ । अधिकांश सञ्चालक समिति सदस्य अहिले पनि उनको राजीनामा पक्षमा रहेका छन् ।
बैंकका सञ्चालक समितिमा अध्यक्ष मोतिलाल दुगड पौडेललाई राख्ने पक्षमा उभिएका छन् तर सञ्चालक समिति सदस्य समेत रहेका उनका भतिज र अधिकांश सञ्चालक समिति सदस्य भने उनलाई हटाउनुपर्ने पक्षमा छन् । त्यसैले विवाद हल भन्दा पनि केही सामसुम मात्र भएको र पुनः जुनसुकै बेला पनि विवाद बढेर जाने सम्भावना रहेको बैंक स्रोत बताउँछ ।
अभियान दैनिकले सम्पादकिय नै लेख्दै निजी बैंकमा यस्तो विवाद छताछुल्ल हुनु बैंकिङ सुशासनका दृष्टिले उपयुक्त मान्न नसकिने उल्लेख गरेको छ । ‘जेजति समाचार बाहिरिएका छन्, तिनले बैंकभित्र आन्तरिक प्रशासनमा समस्या छ, सञ्चालक समितिभित्रै पनि विवाद छ र सीईओ र सञ्चालक समितिबीच नै पनि केही समस्या छ भन्नेचाहिँ तिनले संकेत गरेका छन् ।’ सम्पादकियमा भनिएको छ ।