काठमाडौं । अहिले विश्वभरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । नेपालमा पनि दिनदिनै संक्रमित बढीरहेका छन् । चिकित्सकहरुले स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिरहेका छन् ।
चिकित्सकका अनुसार भाइरस पैसा अर्थात रुपैयाँमा ४ दिनसम्म रहने गर्दछ । भाइरोलोजिष्ट डा लुना भट्टका अनुसार ग्लास र रुपैयाँको नोटमा ४ दिनसम्म भाइरस देखिएको थियो भने सर्जिकल मास्कमा ७ दिनसम्म देखिएको थियो । तर टिस्यु र प्रिन्टिङ पेपरमा भाइरस नदेखिएको उनी बताउँछिन् । उनका अनुसार नोट र कपडामा भाइरस भए पनि त्यसबाट हाम्रो नाकमा छिर्यो भनेमात्रै भाइरसले आक्रमण गर्ने गर्छ ।
उनका अनुसार भाइरस आँखामा गयो भने संक्रमण हुन्छ, जसले गर्दा आँखा पाक्ने, चिलाउने हुनसक्छ। आँखाबाट श्वासप्रश्वास प्रणालीमा भाइरस गएर कोभिड संक्रमण भने नहुने उनी बताउँछिन् । ‘यो रोग कानबाट सर्दैन। मुख्य रूपमा नाकबाट सर्ने हो। खाएको खानेकुराबाट भाइरस सर्दैन ।’ उनी भन्छिन् ।
फलफूल, तरकारी र दूधबाट कोरोना भाइरसको संक्रमण सर्ने खतरा निकै कम हुने पनि उनले बताएकी छिन् ।
उनले रोग प्रतिरोधी क्षमताले कोरोनाबाट नजोगाउने समेत दाबी गरेकी छन् । ‘कतिपय रोगमा यो क्षमता हुनु राम्रो हो तर यो भाइरसको हकमा यस्तो पाइएको छैन ।’ उनले भनेकी छन् ।