कात्तिक १०, रासस । एमाओवादीका मकवानपुर क्षेत्र नं ३ का उम्मेदवार प्रल्हाद लामिछानेको सवारीमा गएराति अज्ञात समूहद्वारा आगजनी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा—५ पिप्लेमा रोकी राखिएको अवस्थामा बा८च ५९५६ नम्बरको टाटा जिपमा राति १ बजे आगजनी गरिएको हो ।

गाडीमा आगलागी भएको थाहा पाएपछि स्थानीय बासिन्दाले आगो निभाएको भए पनि गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको एमाओवादी मकवानपुरले जनाएको छ ।

एमाओवादी मकवानपुरले नेकपा-माओवादीले चुनाव बिथोल्न आगजनी गरेको आरोप लगाएको छ । उम्मेदवार लामिछानेले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।