रोष्मा कटवाल
काठमाडौं । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको सम्पर्क (कन्ट्रयाक ट्रेसिङ) मा पुगेका सर्वसाधरणलाई एक हप्ता होम आइसोलेशनमा बस्न र त्यसपछि मात्र पिसिआर परीक्षण गराउन निर्देशन दियो ।

चिकित्सकहरुका अनुसार यसको मतलब के थियो भने, संक्रमितको सम्पर्कमा पुगेको १/२ दिनमा कोरोना संक्रमण नदेखिन पनि सक्छ भन्ने हो ।
त्यसो तर विश्व स्वास्थ्य संगठन (डब्लएचओ) ले नै १४ दिनसम्म संक्रमण देखिने जनाइसकेको छ । त्यहीँ भएर यसअघि आइसोलेशनमा बसेकालाई १४ दिनमा ३ पटकसम्म परीक्षण गर्ने गरेको थियो ।

तर, यहाँ मन्त्री लगायतल पहुँचवाला उच्च पदस्थ अधिकारीहरुले संक्रमितको सम्पर्कमा पुगेको भोलि वा पर्सी पल्ट नै पिसिआर परीक्षण गराएर कोरोना नलागेको भन्दै प्रचार गर्ने र ढुक्कले नियमित काम गर्ने, भेटघाटमा सहभागी हुन गरेको पाइएको छ ।

यसअघि, बालुवाटारमा प्रधानमन्त्री, मन्त्रीहरु तथा सातै प्रदेशका मन्त्री सहभागी बैठकमा एक जना प्रदेश मन्त्रीलाई कोरोना पुष्टि भएको थियो । लगत्तै बैठकमा सहभागी सबैले भोलिपल्टै कोरोना परीक्षण गराएर पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएका थिए ।

अख्तियारका केही अधिकारीहरुलाई यसअघि कोरोना पुष्टि भएको थियो । उनीहरु गृह सचिवसहित सहभागी बैठकमा सहभागी भएका थिए । लगत्तै गृहसचिव लगायतले सोही दिन हतार हतार कोरोना परीक्षण गराएर रिपोर्ट नेगेटिभ आएको जनाए ।

पछिल्लो पटक सिसिएमसीको बैठकमा सहभागी एक कर्मचारीलाई कोरोना पुष्टि भयो । बैठकमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृह मन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएकाले उनीहरु कन्ट्रयाक ट्रेसिङमा परे । तर उनीहरुले तत्काल नै पिसिआर परीक्षण गराए । भोलिपल्ट नै उनीहरुको रिपोर्ट नेगेटिभ आयो ।

यो त केही उदाहरण मात्र हो । पहुचवालाहरुले यसरी नै संक्रमितको सम्पर्कमा पुगेर भोलि पल्टै परीक्षण गराउने गरेका छन् । त्यसपछि उनीहरु निर्वाध रुपमा नियमित काम, भेटघाट तथा छलफलमा सरिक हुने गरेका छन् ।

स्वास्थ्य मन्त्रालय आफैंले संक्रमितको नजिक वा सम्पर्कमा पुगेकाहरुलाई ६/७ दिनपछि मात्र परीक्षण गराउन निर्देशन दिए पनि पहुँचवालाहरुलाई भने यो नियम लागू भएको छैन ।

पहुँचवालाहरुले तत्काल नै परीक्षण गराएर रिपोर्ट नेगेटिभ आएको भनेर ढुक्क भएपनि विश्व स्वास्थ्य संगठनले भने जस्तै १४ दिनसम्म संक्रमण देखिने भएमा पहुँचवालाहरुको सम्पर्कमा पुगेका र उनीहरुको परिवारका सदस्यहरुमा भने कोरोना भाइरस भुसको आगो जस्तै भित्र भित्रै सल्किरहेको छैन भन्न सकिन्न !

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।