काठमाडौं । तपाईले यसअघि लाइसेन्स नविकरण गर्न दिनु भएकाे वा पास गर्नु भएर लिन जाने तयारीमा हुनुहुन्छ ? त्यसो भए हतार नगर्नुस्, यातायात कार्यालय पुगेर रित्तै फर्कनु पर्ला नि । काठमाडौं उपत्यकामा तीन साता लामो निषेधाज्ञा बुधबार मध्यरातीदेखि सकिएसँगै बिहीबारदेखि नै यातायात कार्यालयहरु खुलेका छन् । तर लाइसेन्स वितरणको काम भने अहिले सुरु गरिएको छैन ।
यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख विष्णु भट्टराईले बिहीबारदेखि नै कार्यालय खुल्ला गरेर सेवा दिन थालिएको जानकारी दिए । उनका अनुसार अहिले नविकरण प्रतिलिपी, राजस्व बुझ्ने, भेरिफिकेशन गर्ने सम्बन्धी सेवा मात्र दिने काम भइरहेको छ भने लाइसेन्स वितरणको काम सुरु भएको छैन । कार्यालय प्रमुख भट्टराईले लाइसेन्स वितरणको काम भने केही समयपछि सहज भएपछि मात्र खुल्ला गर्ने तयारी रहेको बताए ।
बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र शाखा ललितपुरले पनि बिहीबार एक सूचना जारी गर्दै २८ भदौ आइतबारबाट लाइसेन्स नवीकरणको काम सुरु हुने जनाएको छ । कार्यालयले यसबाहेकका अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
यसअघि, ७ लाख बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको थियो । लकडाउनको अवधीमा ती लाइसेन्स भने प्रिन्टको कार्य सम्पन्न भइसकेको छ । लाइसेन्स वितरण गर्दा अत्याधिक भिडभाड हुने कोरोना संक्रमण फैलन सक्ने भन्दै यातायात कार्यालयहरुले तत्काल लाइसेन्स वितरण नगर्ने भएका हुन् । काठमाडौं उपत्यकाका ३ भदौदेखि तीन साता लगाइएको निषेधाज्ञा अघि नै लाइसेन्स वितरणको काम बन्द गरिएको थियो ।