काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले खुलेखुलाम बिरामीसँग लुट धन्दा मच्चाएको पाइएको छ । मेडिसिटी अस्पतालले एक बिरामीको कोरोना रिपोर्ट नै पोजेटिभ बनाईदिएको छ भने रोग नै पहिचान समेत नगरी १७ घण्टा भेण्टिलेटरमा उपचार गरेको नाममा २ लाख ९७ हजार बिल थमाइदिएको छ । रौतहटका अफताब आलमसँग मेडिसिटीले १७ घण्टा भेण्टिलेटरमा राखेको उपचार खर्च २ लाख ४७ हजार भराएको हो भने अन्य तीन वटा अस्पतालमा उनको कोरोना रिपोर्ट नेगेटिभ देखिएकोमा मेडिसिटीले पोजेटिभ समेत बनाईदिएको हो ।
आलम सुरुमा कलंकीस्थित नेपाल नेशनल अस्पताल भर्ना भएका थिए । ज्वरो र स्वासप्रश्वासका बिरामी आलमको कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर नेशनलले सानेपास्थित स्टार हस्पिटल पठाएको थियो । स्टारले भदौ १९ गते उनको पिसिआर रिपोर्ट नेगेटिभ रहेको रिपोर्ट पठाएको थियो । ज्वरो नघटेपछि विश्वास नलागेर २१ भदौमा आलम पिसिआर परीक्षणका लागि शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु पुगे । टेकुमा पनि उनको पिसिआर रिपोर्ट नेगेटिभ नै आएको थियो ।
स्वास्थ्यमा सुधार नभएपछि आलम ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगेका थिए । उनलाई सिँधै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो भने पिसिआर परीक्षण पनि गरियो । पिसिआरमा भने उनको पोजेटिभ देखाइयो । त्यसपछि मेडिसिटीले कोरोनाको उपचार गर्न नसक्ने भन्दै धापासीस्थित ग्राण्डी अस्पताल रिफर गर्यो । तर, मेडिसिटीले १७ घण्टा उपचार गरेको झण्डै तीन लाख बिल जबरजस्ती थमायो । सुरुमा सिँधै भेन्टिलेटरमा राखेको मेडिसिटीले १७ घण्टा राखेर ३ लाख उठाएपछि नसक्ने भन्दै बिरामीलाई अन्त पठाएको थियो । यतिसम्म कि करिब ३ लाख केमा खर्च गरियो र के रोग लागेको भन्ने समेत मेडिसिटीले पत्ता लगाउन सकेन ।
अझ, रमाइलो त के छ भने आलम ग्राण्डी अस्पताल पनि पुगे । ग्राण्डीले पनि पिसिआर चेक गर्यो, तर उनको रिपोर्ट नेगेटिभ नै देखियो । यसरी तीन वटा अस्पतालमा पिसिआर नेगेटिभ देखाउने र मेडिसिटीमा भने पोजेटिभ देखाउनुले रिपोर्टमा नै मिलेमतो भएको आशंका गरिएको छ । त्यसो त ३ लाख लिएर रोग नै पहिचान नगर्ने र के मा खर्च गरियो भन्ने समेत पत्तो नदिई बिरामीलाई फर्काउनु पनि अस्पतालको बदमासी देखिएको छ।
यसरी पाँच दिनको बिचमा चार वटा अस्पतालमा गरिएको पिसिआर परीक्षणमा तीन वटामा नेगेटिभ र एउटामा पोजेटिभ देखिँदा र अस्पतालको लापरबाहीले बिरामी र बिरामीका आफन्त भने हैरान बनेका छन् । निजी अस्पतालले यसरी खुलेखुलाम लुट धन्दा मच्चाईरहँदा सरकार तथा नियामक निकाय भने आँखा चिम्लेर बसेको पाइएको छ । (एभिन्यूज टिभीद्धारा प्रसारित रिपोर्टमा आधारित)