काठमाडौं । तपाईले हिजो र आज युट्युब, फेसबुक तथा ट्विटर लगायतका सामाजिक सञ्जालमा वीर हस्पितलमा एक कैदीको आँखा निकालेको, ह’त्या गरिएको लगायतका सामग्री निरन्तर हेरिरहनु भएको होला । हिजोदेखि यो विषय एकाएक चर्चाकाे शिखरमा छ । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका रुपन्देही सिद्धार्थ नगरपालिका–५ घर भएका ६३ वर्षीय राम लखन जैसवालको निधनपछि यो घटना चर्चा र विवादमा आएको हाे ।

रामकी छोरीले वीरमा छोपेर राखिएको बुवाको शवको भिडियो खिचेपछि यो घटना बाहिरिएको हो । जैसवाललाई कोरोना पोजिटिभ आएको भन्दै कसैलाई पनि छुन र भेट्न नदिएको बताइन्छ । तर, जब उनकी छोरीले लुकेर भिडियो खिचिन् तब यो विषय विवाद र चर्चामा छ । मृतकको शव हेर्न नदिएपछि जबरजस्ती झ्यालबाट घोचो छिराएर शव ढाकिएको कपडा हटाएर भिडियो खिचेको र उक्त भिडियोमा प्रष्टसँग बाबुको ह’त्या गरिएको छोरीले बताइरहेकी छिन् । युट्युब च्यानलहरुमा हालिएको उक्त भिडियोमा आँखामा चोट पटक जस्तो देख्न सकिन्छ भने मुखमा रगत जस्तै बगेको देख्न सकिन्छ ।

कारागारबाटै गत शनिबार राति फोन गरेर जैसवालको निधनबारे जानकारी गराएपछि उनकी छोरी रश्मी र उनको परिवार काठमाडौं आएका थिए। रामलखन जैसवालको निधन षड्यन्त्रपुर्वक भएको, परिवारलाई गुमराहमा राख्न खोजिएको र ह’त्यापछि भएको निधन लुकाउन कोरोना भनिएको परिवारको दाबी छ ।

कारागारले भने उनको शनिबार उनमा एक्कासी श्वासप्रश्वासको समस्या भएको र शनिबार नै हस्पिटलले उनलाई मृत घोषणा गरेको जनाएको छ । वीर अस्पतालले शव घरमा फ्रिज नभएकाले बन्द कोठामा शवलाई खुला नै राखेको र फ्रिजमा नराखिएका कारण गर्मीले केही बिग्रिएको र धेरै दिन बाहिर राख्दा आँखा लगायतका भागबाट रगतजस्तो तरल पदार्थ आएको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।