भारत झस्किने गरी टर्कीले उठायो राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा

काठमाडौं । संयुक्त राष्ट्रसंघमा भारतलाई झस्का पस्ने गरी टर्कीले जम्मु–कश्मीरको मुद्दा उठान गरिदिएको छ । संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु धारणा राखेपछि भारतमा हलचल समेत मच्चिएको छ । भारतले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेकाे राष्ट्रपति रेचेप तैयप अर्दोआनकाे भनाइ छ ।

राष्ट्रसंघ जस्तो सभामा जम्मु–कश्मीरको विषय टुंग्याउनुपर्ने विषय उठेपछि भारतले भने तातो प्रतिक्रिया दिएको थियो । यतिसम्म की टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै भारतले आपत्ती समेत जनाउनु परेको छ । राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले भारतको आन्तरिक मामिलामा हस्तक्षेप जनाउँदै भारत यसलाई पूर्णरुपमा अस्वीकार गर्दछ भनेका छन् ।

त्यसो त राष्ट्रसंघमा जम्मु–कश्मीर विषय उठेको यो पहिलो पटक भने हैन । एक दिन अगाडि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएका थिए । भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेपछि पाकिस्तान लगायत देशले त्यसको विरोध गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।